बङ्लादेशको राजधानी ढाकास्थित एक बस्तीमा आगलागी हुँदा कम्तीमा १० हजारको संख्यामा घरबार विहीन भएका छन्। ढाकाको मिरपुरबाट सुरु भएको आगलागीले टिनले छापिएका दुई हजार घरहरु जलेर नष्ट भएको अग्नी सेवा अधिकारी इर्साद हुसेनले बताए।
आगलागीबाट केही घाइते भएपनि कुनै मानवीय क्षति नभएको बताइएको छ। ‘इदका अवसरमा परिवारसहित धेरै जना बिदा मनाउन गएकाले प्राय घरहरु खाली थिए। नत्र क्षती बढ्न सक्थ्यो’ स्थानीय प्रहरी प्रमुख गोलम रब्बानीले भने।
आगलागी पछि १० हजार मानिस स्कुल नजिकैको क्याम्पमा आश्रय लिन बाध्य भएका छन्। उनीहरुमध्ये धेरै २० वर्षअघि देखि वस्तीमा बस्दै आएका थिए। तीमध्ये अधिकांश कपडा उद्योग, केही रिक्सा चालक र केही मजदुरी गरी वस्तीमा गुजारा चलाउँदै आएका थिए।
आगलागीको कारण बारे अनुसन्धान भइरहेको जनाइएको छ।अग्नी प्रकोपका कारण बङ्लादेशका प्रमुख शहरहरुमा मात्रै यो वर्ष सयौँ जनाले ज्यान गुमाइसकेका छन्।