बाँकेमा प्रहरीले तीन राउन्ड हवाई फायर गरी लागुऔषध कारोबारी नियन्त्रणमा लिएको छ।
भारत उत्तर प्रदेश जिल्ला बहराइच रुपैडिया थानाका ३५ वर्षीय इलिहास महम्मदलाई प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका –४ गणेशपुर नजिकबाट पक्राउ गरेको थियो।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको टोली माथि आक्रमण गरी महम्मद भाग्न प्रयास गरेपछि प्रहरीले तीन राउन्ड गोली चलाएको थियो।
महम्मदको साथबाट २८० ग्राम १६० मिलीग्राम ब्राउन सुगर बरामद भएको डिएसपी पातलीले बताए।
जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप भई महम्मदमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।