दाङको घोराहीका 'डन' विकास पुन पक्राउ परेका छन्। पुनलाई प्रहरीले बिहीबार राति साढे ११ बजेतिर घोराहीको रतनपुरबाट पक्राउ गरेको हो। 
‘पुनका पुराना मुद्दा छन् भन्ने कुरा आएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘हामी अनुसन्धान गर्दैछौं। अनुसन्धानपछि मात्रै  विस्तृतमा भन्न सकिन्छ।’ 
पुनको विगतमा छवि राम्रो नरहेको तथा गुण्डा नाइकेको पहिचान बनाएको उनले बताए। 
दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले पनि पुन पक्राउ परेको पुष्टि गरे।
‘हामीले उहाँलाई त्यस्तै एउटा कुराको लागि सोधपुछ गर्न भनेर ल्याएका छौं,’ चन्दले भने। पुनविरूद्ध ज्यान मार्ने उद्योगअन्तर्गतको एउटा मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। 
त्यही मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद सजाय तोकेको थियो। त्यसपछि पुन सर्वोच्चमा अपिल गर्न पुगेका हुन। 
पछिल्लो समय उनले जिल्लाको देउखुरी क्षेत्रको राप्ती नदीबाट बालुवा गिट्टी निकासीको काम गर्दै आएको स्रोतले बताएको छ।