अत्यधिक चिसो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले विद्यालयहरूमा जाडो बिदा दिएको छ।
गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिन जाडो बिदा दिइएको हो।
गाउँपालिकाले सूचना निकालेर पुस १४ गतेदेखि १६ गतेसम्म वार्षिक बिदाबाट मिलान हुने गरी सम्पूर्ण विद्यालयहरूमा जाडो बिदा दिइएको जनाएको छ।
गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले केही दिन यता अत्यधिक चिसो बढेपछि बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राखेर बिदा गरिएको बताए।
अध्यक्ष यादवले बाक्लो हुस्सु सहितको शीत लहरका कारण विद्यालयमा पठनपाठन र अन्य क्रियाकलाप सञ्चालन गर्न समेत कठिनाइ भएको र विद्यार्थीहरू बिरामी पर्ने जोखिम बढेपछि बिदा दिइएको बताए।
रुपन्देही लगायत आसपासका तराईका जिल्लाहरूमा पुस महिना लागेसँगै बाक्लो हुस्सु र कुहिरो लागेपछि चिसो बढेको थियो। त्यसैमाथि पछिल्लो तीन/चार देखि शीत लहर चल्न थालेपछि अत्यधिक चिसो बढेको छ।
हुस्सु, कुहिरो र शीत लहरबाट वृद्ध वृद्धा तथा बालबालिकाहरू बढी प्रभावित भएका छन्।
चिसोले सामान्य दैनिक जनजीवन प्रभावित मात्रै होइन, कष्टकर बनिरहेको छ।
शीत लहरले झनै चिसो बढाएको छ। बुटवलमा आइतबार देखी सुरु भएको शीत लहर सोमबार झनै बढेपछि अत्यधिक चिसो बढेको छ।
दिनभर लाग्ने बाक्लो हुस्सु र कुहिरो सँगै शीत लहर चल्न थालेपछि सडक चिप्लिएर दुर्घटनाको जोखिम बढाएको छ।
हुस्सु कुहिरो र शीत लहरबाट विशेषगरि मुख्य राजमार्गहरूमा दुर्घटनाको जोखिम बढेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाकी प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीले हुस्सु, कुहिरो र शीत लहर बढेपछि सवारी साधन दुर्घटनाको जोखिम बढ्न थालेको बताइन्।
त्यस्तै बाक्लो हुस्सु र कुहिरोका कारण विमान उडान र अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुगेर हवाई उडान समेत अवरुद्ध भइरहेको गौतम बुद्ध विमानस्थल कार्यालयले जनाएको छ।