बर्दियामा अन्तर जातीय बिहे गरेको आरोपमा राति गएर केटाको घरमा आगो लगाएको पाँच जना आरोपी पक्राउ परेका छन्। थप पाँच फरारहरूको खोजी भइरहेको छ।
पुस १० गते राति नौ बजेतिर गुलरिया नगरपालिका–१० का २४ वर्षीय सद्दाम बेहनाको घरमा गाउँकै एक समूह गएर आगजनी गरिदिएको थियो। अन्तर जातीय बिहे गरेको तथा मुस्लिमले हिन्दुको छोरी भगाएर लगेको आरोप लगाउँदै गाउँकै केही व्यक्तिहरू गई बेहनाको घरमा आगजनी गरेका थिए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी देवेन्द्रकुमार मल्लका अनुसार बेहनाको घर आगजनी गर्ने मध्येका पाँच जना पुरूषलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
प्रहरीले जातीय तथा धार्मिक हिंसा भड्किने सक्ने सम्भावनालाई मध्यनजर गर्दै पक्राउ परेका व्यक्तिहरूको नाम भने सार्वजनिक गरेको छैन। डिएसपी मल्लका अनुसार बेहनाको घरमा आगजनी गर्ने मध्ये थप पाँच जना फरार छन्। उनीहरूको खोजी भइरहेको छ।
प्रहरी हिरासतमा रहेका पाँच जना विरूद्ध ज्यान मार्ने उद्योग र आपराधिक लाभ शिर्षकमा मुद्दा चलाउने गरी अदालतबाट आइतबार सात दिनको म्याद प्राप्त भएको डिएसपी मल्लले बताए।