रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३/११ केभी शवस्टेशन चार्ज भएको छ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले प्राधिकरणको पूर्ण स्वामित्वमा रोल्पा नगरपालिका– ३ लाँकुरीमा नवनिर्मित शवस्टेशनको सोमबार उदघाटन गरेसँगै त्यसबाट विद्युत वितरण सुरु भएको छ।
योसँगै रोल्पाका अधिकांश क्षेत्रका ग्राहकले भरपर्दो विद्युत सेवा पाउने भएका छन्।
शवस्टेशन अभावमा यसअघि जिल्लामा पटकपटक विद्युत सेवा अवरुद्ध हुने गरेको थियो। यसअघि रोल्पामा रहेको ३३ केभीको वितरण प्रणाली नयाँ शवस्टेशन सञ्चालनमा आएसँगै विस्थापित भएको छ।
शव स्टेशनको सञ्चालनपछि एक स्थानमा समस्या हुँदा सबैतिर अँध्यारो हुने, प्राविधिक चुहावट कम हुने तथा उद्योग सञ्चालनका लागि विद्युत सेवा नियमित उपलब्ध हुने भएको छ।
भारतको एटू–जेड इन्फ्रा इन्जिनियरिङ र नेपालको त्रिपुरेश्वर–जयदुर्गे जेभीले निर्माण गरेको उक्त शवस्टेशन एसियाली विकास बैंकको १० करोड रुपैयाँ सहयोगमा निर्माण सम्पन्न भएको हो।
शवस्टेशनबाट रोल्पाका सुनिल स्मृति गाउँपालिका, लुङ्ग्र गाउँपालिका, सुनछहरी गाउँपालिका, रुण्टीगढी गाउँपालिका र रोल्पा नगरपालिकाका ग्राहकले विद्युत सेवा पाउनेछन्। यसअघि रोल्पामा प्यूठानको झिम्रुक शवस्टेशनबाट विद्युत वितरण हुँदै आएको थियो।
शवस्टेशन उदघाटन समारोहमा मन्त्री पुनले आगामी दुई वर्षभित्र देशका अधिकांश भू–भागमा विद्युतीकरण गरिसक्ने बताए। उज्यालो समृद्धि र विकासको प्रतिक भएकाले सरकारले उज्यालोलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो।
‘उज्यालो समृद्धिको प्रतिक हो, समृद्धिको ढोका हो’, मन्त्री पुनले भने, ‘सरकारले दुई वर्षभित्र हरेक नेपालीको घरमा विद्युत पुर्याउने गरी काम गरिरहेको छ।’
मन्त्री पुनले रोल्पामा बन्न लागेको १ सय ५६ मेगावाटको माडी जलाशययुक्त आयोजनाको विस्तृत आयोजना अध्ययन करिब सकिएकाले अब छिट्टै निर्माणको प्रक्रिया अघि बढ्ने जानकारी दिए।