मोरङ प्रशासनले जिल्लाव्यापी रुपमा निषेधाज्ञा जारी गरेको छ।
बिहीबार प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले २४ गतेदेखि लागू हुने गरी एक साताका लागि जिल्लाव्यापी निषेधाज्ञा आदेश जारी गरेका हुन्।
यसअघि शनिबार १२ बजेपछि लागू हुने गरी एक साता विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा जारी गरिएको थियो।
कोरोनाको दोस्रो चरणको महामारीले संक्रमितको संख्या र मृत्युदर बढेपछि निषेधाज्ञा जारी गरिएको निरौलाले जानकारी दिए।
निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवामा रोक लगाइएको छ। निषेधाज्ञा अवधिमा औषधी, खाद्यवस्तु, अत्यावश्यक सेवाका पसललाई बिहान ६ देखि १० बजेसम्म सञ्चालन गर्न दिइने छ।
अत्यावश्यक कामबाहेक कोही पनि घर बाहिर निस्कन र भेला हुन नपाउने निरौलाले बताए।
स्वास्थ्यकर्मी, डाक्टर, नर्स, दुरसञ्चार, सरसफाइकर्मी, कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई परिचय पत्र प्रयोग गरी आवतजावत गर्न दिइने छ।