काठमाडौंबाट ६४ लाख रुपैयाँ नगद चोरी गरी दाङ पुगेका दुर्गाबहादुर केसीविरूद्ध यसअघि पनि मुद्दा चलेको खुलेको छ।
तुलसीपुर उपमहानगरपालिका-६ गौलौराका २४ वर्षीय केसीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
उनीमाथि काठमाडौं महानगरपालिका-४ विशालनगरस्थित ‘स्ट्रोम नेट प्राइभेट लिमिटेड’को कार्यालयमा चोरी गरेको आरोप छ। प्लमरको काम गर्ने उनले पुस १३ गते राति करिब ११ बजे ६४ लाख ८१ हजार नगद चोरेको आरोप छ।
उक्त आरोपमा प्रहरीले दाङबाट उनलाई पक्राउ गरी काठमाडौं फिर्ता गरेको छ।
यसरी पक्राउ परेका केसीविरूद्ध २०८० साउन १० गते डाँका चोरी तथा जबरजस्ती करणी मुद्दा चलेको खुलेको छ। त्यतिबेला उनी कारागार चलान भएको खुलेको हो।
२०८० मंसिर १८ गते दुर्गा बहादुरलाई जिल्ला अदालत दाङले डाँका मुद्दामा चार महिना सात दिन कैद सजाय र पीडित कोषमा दुई सय रुपैयाँ जम्मा गर्ने फैसला भएको प्रवक्ता गोकर्ण वलीले जानकारी दिए। जबरजस्ती करणी मुद्दामा भने उनले सफाइ पाएका थिए।
विशाल नगरको स्ट्रोम नेट प्राइभेट लिमिटेडमा चोरी गर्नुपूर्व उनले एक सुनचाँदी पसलमा पनि चोरी गरेको आरोप छ।
दुर्गा बहादुरको घरमा तलासी गर्ने क्रममा केही चाँदीका ब्रासलेट र गहना पनि फेला परेका थिए।
यसरी चोरी गरेपछि उनी आफ्नो घर दाङ फर्केका हुन्। उनले चोरीका नगद र गहनाबारे घर परिवारलाई जानकारी गराइसकेका थिएनन्।
मंगलबार बिहान उज्यालो भइसकेपछि दुर्गाबहादुर घरबाट चुरोट खान निस्केपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनीमाथि मालिगाउँ प्रहरी वृत्तमा थप अनुसन्धान हुने भएको छ।