युक्रेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अनि पाकिस्तान र संयुक्त अरब इमिरेट्सका (यूएई) अधिकारीहरूको आलोचना गरेको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासमा हमला भएको रूसले दाबी गरेको छ। युक्रेनले भने पुटिनको निवासमा हमला नगरेको बताएको छ। युक्रेनले पुटिनको निवासमा हमला गरेकोमा मोदीले सामाजिक संजाल एक्समा गहिरो चिन्ता व्यक्त गरेका थिए। पाकिस्तान र यूएईले पनि सो हमलाको भर्त्सना गरेका थिए।
त्यस विषयमा टिप्पणी गर्दै युक्रेनले मोदी अनि पाकिस्तान र यूएईका अधिकारीहरूको आलोचना गरेको हो।
'लगभग एक दिन बितिसक्दा पनि युक्रेनले पुटिनको निवासमा 'कथित हमला' गरेको भन्ने आफ्नो आरोपको रूसले कुनै विश्वसनीय प्रमाण दिन सकेको छैन। र उनीहरूले दिने पनि छैनन्। किनभने त्यस्तो कुनै प्रमाण नै छैन। त्यस्तो कुनै हमला भएकै छैन,' युक्रेनी विदेश मन्त्री एन्द्री सिबिहाले एक्समा लेखेका छन्, 'कहिल्यै नभएको हमलाको विषयमा इमिरेट्स, भारतीय र पाकिस्तानी पक्षहरूले चिन्ता व्यक्त गरेको देख्दा हामी निराश र चिन्तित भएका छौं।'
रूसी विदेश मन्त्री सर्गई लाभरोभले सोमबार युक्रेनमाथि मस्को र सेन्ट पिटर्सबर्गको बीचमा रहेको नोभगोरोड क्षेत्रस्थित पुटिनको आधिकारिक निवासमा हमला गर्न ९१ वटा ड्रोन पठाएको आरोप लगाएका थिए। रूसले ती ड्रोनहरूलाई खसालिदिएको दाबी लाभरोभले गरेका थिए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने युक्रेनले त्यस्तो हमला नगरेको भन्दै रूसले शान्ति वार्तालाई बिथोल्न खोजेको आरोप लगाएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)