चार दिनदेखि परेको अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवलमा तटबन्ध नै बगाएको छ।
बुटवल-११, बुद्धनगर, शिवालय टोललाई नदीबाट सुरक्षित बनाउन लगाइएको तटबन्ध र पर्खाल बाढीले बगाएको हो।
सो स्थानमा गत वर्ष पनि बाढीले क्षति पुर्याएपछि उपमहानगरपालिकाले ६० मिटरको तटबन्ध लगाएको थियो। तर बिहीबार रातिको बाढीले गत वर्ष लगाएको ५० मिटर तटबन्ध बगाएको वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए।
तटबन्ध बगाएर शिवालय टोलका ९ घरपरिवार जोखिममा परेपछि त्यहाँबाट अन्यत्र सुरक्षित स्थानमा सारिएका छन्। वडा अध्यक्ष क्षेत्रीले विस्थापित ९ घरपरिवारलाई बुद्धनगरमै रहेको सहिद स्मारक विद्यालयमा राखिएको र पानी आउने क्रम रोकिएपछि थप व्यवस्थापनका लागि उपमहानगरपालिकामा पहल भइरहेको बताए।
स्थानीयले बुटवल उपमहानगरपालिकाले नदी नियन्त्रण गरी बस्ती जोगाउनेतर्फ कुनै ध्यान नदिएको गुनासो गरेका छन्।
स्थानीय नारायण बन्जाडेले निर्वाचनका बेला सुकुम्बासीहरूको समस्यालाई प्रमुख मुद्दा बनाएर निर्वाचन जितेकाहरू साढे चार महिना बितिसक्दा पनि फर्किएर नगएको गुनासो गरे।
निर्वाचनपछि पनि बलियो र दिर्घकालीन समस्या समाधान गर्ने गरी तटबन्ध लगाउने पर्याप्त समय भए पनि बाढी नआउँदासम्म फर्किएर नगएको उनले बताए।
‘भोट माग्न दिनरात घरघरमा आएका जनप्रतिनिधिरू निर्वाचन जितेपछि फर्किएर आउनुभएको छैन। निर्वाचनलगत्तै काम गरेको भए अहिले बस्ती छाडेर हिँड्नुपर्ने अवस्था आउने थिएन,’ बन्जाडेले भने।
उनले उपमहानगरपालिकाले लगाएको तटबन्ध पनि कमसल रहेको र आफूहरूको आँखामा छारो हाल्ने मात्र काम गरिएको गुनासो गरे।
‘यस्तो बाढीले बगाउने तटबन्ध कस्तो होला। सबै हाम्रो आँखामा छारो हाल्ने काम मात्रै गरिएको छ,’ उनले भने।
वडा अध्यक्ष क्षेत्रीले बुद्धनगर र शिवालय टोलमा लगाइएको तटबन्ध तिनाउ नदीमा आएको बाढीले बर्सेनि कटान गरिरहेकाले समस्या बल्झिइरहेको बताए। उपमहानगरपालिकाले बर्सेनि संरचना निर्माण गरे पनि बाढी आउनेबित्तिकै भत्किने क्रम नरोकिएको उनले बताए।
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९, ०४:४४:००