हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन्।
शुक्रबार नारायणघाटबाट जनकपुर जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस हेटौंडा उपमहानगरपालिका-११ नवलपुरमा दुर्घटना भएको हो।
दुर्घटना हुँदा बसमा सवार सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामचन्द्र घिमिरेले जानकारी दिए।
दिउँसो १ बजे दुर्घटना भएको उक्त बसमा ५२ जना सवार थिए।
घाइतेमध्ये ३० जनालाई हैटौंडा अस्पताल र २१ जनालाई चुरेहिल अस्पताल लगिएको इन्स्पेक्टर घिमिरेले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई चितवन मेडिकल कलेज लगिएको छ।
दुर्घटनापछि चालक भने फरार छन्। उनको खोजी कार्य भइरहेको इन्स्पेक्टर घिमिरेले जानकारी दिए।
घाइतेहरूको अवस्था र परिचय खुलाउने काम भइरहेको उनले बताए।