दाङको तुलसीपुरमा सडक किनारमा रोकिराखेको अटोमा मोटरसाइकल ठोक्किएपछि सडकमा लडेका एक जनालाई विपरीत दिशाबाट आएको पिकअप गाडीले ठक्कर दिँदा मृत्यु भएको छ।
बुधबार बेलुकी करिब साढे ६ बजे तुलसीपुरबाट बबईस्थित घरतर्फ जाँदै गरेका बबई गाउँपालिका–६ का ५८ वर्षीय हिमबहादुर डाँगी सवार मोटरसाइकल सडक किनारमा रोकिराखेको अटोमा पछाडिबाट ठोक्किएको थियो।
ठक्करपछि सडकमा लडेका डाँगीलाई विपरीत दिशाबाट तुलसीपुर आउँदै गरेको पिकअपले टाउको र अनुहारमा ठक्कर दिएको थियो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार पिकअपको ठक्करबाट गम्भीर घाइते भएका डाँगीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले जाँच गरेपछि उनलाई मृत घोषणा गरेका थिए।
डाँगी पूर्वशिक्षक हुन्।
प्रहरीका अनुसार उनी रा ६ प ५७८७ नम्बरको मोटरसाइकलमा सवार थिए।
मोटरसाइकल सडक किनारमा रोकिएको रा १ ह ३८७९ नम्बरको अटोमा ठोक्किएको थियो। त्यसपछि सडकमा लडेका उनलाई ना ४ च ६१३ नम्बरको पिकअपले ठक्कर दिएको थियो।
बिहीबार बिहान पोस्टमार्टमपछि आफन्तले डाँगीको शव बुझेको डिएसपी पराजुलीले बताए।
आफन्तले पिकअप चालक र अटो चालक दुवैविरुद्ध बिहीबार बिहान इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका छन्। यद्यपि, सिसिटिभी फुटेज विश्लेषण गर्दा अटो चालकको कुनै गल्ती नदेखिएको प्रहरी अधिकारीहरूले बताएका छन्।
दुर्घटनालगत्तै प्रहरीले पिकअप चालक बबई गाउँपालिका–४ का ३३ वर्षीय दुर्गाप्रसाद विक र अटो चालक दंगीशरण गाउँपालिका–५ सलौराका ३२ वर्षीय हेमन्त कुशमलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई प्रहरी हिरासतमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।