रौतहटमा घरमै आमा छोरी मृत फेला परेका छन्।
शनिबार बिहान जिल्लाको मौलापुर नगरपालिका-४ स्थित पतौरा टोलमा २४ वर्षीया कविताकुमारी साह र उनकी २० महिनाकी छोरी आरोही मृत फेला परेका हुन्।
घरबाहिर कविता र घरभित्र पंखामा झुण्डिएको अवस्थामा उनकी २० महिने छोरी मृत भेटिएको रौतहटका डिएसपी उमाशंकर यादवले बताए।
उनका अनुसार कविताको घाँटीमा पनि सल बाँधिएको अवस्थामा छ।
‘उनी झुण्डिएको डोरी चुँडिएको जस्तो पनि देखिन्छ। अहिले यकिनका साथ भन्न सकिँदैन,’ डिएसपी यादवले भने।
डिएसपी यादवका अनुसार कविताको घरभित्र भेटिएको बाकसमा आगो लागेको र कपडाहरू जलेको अवस्थामा भेटिएको छ।
अहिले शव पोस्टमर्टमका लागि अस्पताल लगिएको र रिपोर्टपछि मात्रै थप कुरा थाहा हुने उनले बताए।
कविताकी बाबु विजयशंकरलाई घटनाबारे बान तीन बजे कविताकै छिमेकीले फोनमार्फत जानकारी गराएका थिए।
विवाहमा कबुलेको दाइजो नदिँदा छोरीलाई सासु र ज्वाँइले अढाई वर्षदेखि यातना दिँदै आएको विजयशंकरको आरोप छ।
‘विहेमा अरु सामान दिएकै थिएँ । धेरै कर्जा भएपछि पलंग, सुनको औँठी र सिकरी पछि दिने भनेकै थियौँ तर उसले तुरन्तै चाहियो भनेर मेरी छोरीलाई कुट्थे । मेरो छोरीलाई फोन गरेर यी सामानहरु माग्न भन्थे ।
‘हाम्रो गरिबी देखेर मेरी छोरीले कुटेको र सामान मागेको कुरा केही दिनसम्म बताइनन् । जब अति गर्न थाले तब मात्रै बताए मलाई भन्न आइन्,’ उनले भने ।
स्थानीयका अनुसार ससुराको यातना सहन नसकेपछि कविता श्रीमानसँग छुटिएर अलग्गै बस्न चाहेकी थिइन् । तर माइती पक्ष र आफन्तहरुले सहेरै भएपनि मिलेर बस्न उनलाई कर गरेका थिए ।
चारदिन अघि कविताकी श्रीमान धिरेन्द्रले उनको मोबाइल खासेका थिए। त्यसयता छोरीसँग कुराकानी नभएको उनकी बुवा विजयशंकरले बताए।
मृत्युको कारण अनुसन्धानपछि मात्रै भन्न सकिने डिएसपी यादवले बताए।
घटनापछि कविताकी श्रीमान धिरेन्द्र साह फरार छन् । उनकी सासु र जेठानीलाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।