शुक्रबार बिहान सवा ६ बजेतिर बर्दियाको इलाका प्रहरी कार्यालय ढोढरीमा हल्लाखल्ला भयो।
प्रहरी हिरासतबाट फुत्केर थुनुवा भागेको प्रहरीले थाहा पाएको थियो। उनीहरू हिरासत कक्ष खोलेर भागेका थिए। अरू पनि भाग्न सक्छन् भनेर प्रहरी परिचालन गरी हिरासत बन्द गरिएको थियो।
घटनाबारे तत्कालै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी सुधिरराज शाहीसमक्ष रिपोर्टिङ भएको थियो। हिरासतबाट भागेका दुई जनाको पहिचान गरी उनीहरूको खोजी गर्न विभिन्न युनिटका प्रहरी परिचालन गरिएको थियो।
भाग्ने व्यक्तिहरू मधुवन नगरपालिका-५ का १९ वर्षीय अजय नेपाली र २० वर्षीय राजा नेपाली थिए। उनीहरू असार ८ गते ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका थिए। अनुसन्धानको क्रममा हिरासतमा रहेका उनीहरू एकाएक शुक्रबार भागेका थिए।
उनीहरूलाई खोज्न विभिन्न युनिटबाट १५० जना भन्दा बढी प्रहरी परिचालन गरिएको थियो। परिचालन गर्नेबेला प्रहरीले सकेसम्म स्थानीयको सहयोग लिन खोज्यो।
सम्भावित क्षेत्रमा भागेका थुनुवाको तस्बिर देखाउँदै प्रहरीले खोजी गर्यो। त्यसक्रममा उनीहरू इलाका प्रहरी कार्यालयको उत्तरतर्फ भागेको सूचना प्रहरीले पायो।
प्राप्त सूचनालाई आधार बनाएर प्रहरीले ती क्षेत्रमा दुई घन्टासम्म खोज्यो तर भागेका थुनुवा नरहेको पक्कापक्की भयो। त्यसपछि दिशा परिवर्तन गरी प्रहरीले खोजीकार्यलाई तीव्रता दियो।
‘सुरूमा उनीहरू उत्तरतिर भाग्यो भन्ने भएपछि हामी त्यता तिर केन्द्रित भयौं। तर नभेटेपछि हामी अन्तै मोडियौं,’ एसपी शाहीले भने। त्यसैबीच प्रहरीले कोहलपुरबाट तालिमप्राप्त कुकुर ल्याएको थियो। कार्यालयमा भएका फरार थुनुवाका कपडा सुँघाएर खोजी गर्न थालिएको थियो।
उनीहरू भारत भाग्न सक्ने आशंकामा एसपी शाहीले भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेका थिए। बोर्डरमा अजय र राजाको तस्बिर पनि पठाइसकिएको थियो। त्यसपछि सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलले सीमामा सुरक्षा व्यवस्था कडा पारेको थियो।
जसकारण उनीहरूले सीमा पार गर्न सकेनन्। प्रहरीले स्थानीयको मद्दतमा उनीहरू कहाँ भागेका छन् भन्ने जानकारी लिँदै गएको थियो। केही स्थानीयले उनीहरू जंगल पसेको खबर दिए।
बर्दियाका जंगलमा बाघ भेटिने भएपछि प्रहरी पनि अलि हच्किएको थियो।
‘त्यहाँका जंगलमा बाघ बस्ने भएकाले त्यसको पनि चिन्ता थियो। खटिएका प्रहरीलाई अलि सचेत भएर हिँड्न भनेको थिएँ,’ उनले भने, ‘अर्को भागेका व्यक्तिको पनि ज्यान जोखिममा थियो। त्यसकारण हामीले संयममता अपनाउनै पर्ने थियो।’
स्थानीयको सूचनाअनुसार प्रहरी बेलझुण्डी सामुदायिक वनमा पस्यो। त्यहाँ घेरा हाल्दै खोज्दै जानेक्रममा मध्यान्ह १२:५० मा अजय पक्राउ परे। उनले लामो समय जेलमै सड्नुपर्ने डरले भागेको प्रहरीलाई बताएका छन्।
एकजनालाई समात्न सफल भएपछि अर्का अभियुक्त छिट्टै भेटिनेमा प्रहरी आशावादी थियो। खोजीमा खटिएको टोलीलाई अलमल नगर्न एसपी शाहीको निर्देशन थियो।
'हिरासतबाट भाग्ने व्यक्तिहरूसँग फोन, पैसा केही पनि हुँदैन। उनीहरूको मनस्थिति भाग्ने मात्रै हुन्छ। त्यस्तो अवस्थामा हामीले अलमल गर्नु भनेको उनीहरूले सोच्ने समय पाउनु हो। त्यसकारण थकाइ मार्ने र खाने काममा धेरै समय नलाउन निर्देशन दिएको थिएँ,' एसपी शाहीले भने।
राजा विवाहित हुन्। जंगलमा खोजी कार्य जारी रहँदा एसपी शाहीले उनको घरमा महिला प्रहरी पठाए।
राति ७ बजेसम्म खोज्दापनि नभेटिएपछि प्रहरी जंगलबाट फर्किएको थियो। घरमा आए अथवा फोन गरे तत्काल प्रहरीलाई खबर गर्न राजी बनाएर महिला प्रहरी पनि राजाको घरबाट बेलुका फर्कियो।
आज बिहान पाँचै बजेदेखि प्रहरी टोली राजाको खोजीमा परिचालन भयो। खोजीमा खटिएका प्रहरीलाई एसपी शाहीले सिभिल युनिफर्म लगाउन भनेका थिए। सोहीअनुसार आज बिहान भने प्रहरी डाँडे सामुदायिक वनमा केन्द्रित भएको थियो।
व्यापक खोजीपछि बिहान ८:४० बजे प्रहरी राजालाई समात्न सफल भयो। उनी फेला परेको स्थानबाट उनको घर दुई किलोमिटरमात्रै टाढा थियो।
‘उनी पनि हिजै पक्राउ पर्न सक्थे। तर स्थानीयबाट सूचनाहरू लिँदा सबै जनाले अजयको मात्रै दिइरहेका थिए। त्यसो भएपछि उनले भाग्ने मौका पाएका रहेछन्,’ एसपी शाहीले भने, ‘सीमा सुरक्षामा कडा नगरिएको भए उनी पनि भारतमा भाग्ने रहेछन्।’
प्रहरीले उनीहरू दुबै जनालाई इलाका प्रहरी कार्यालयबाट अन्दाजी ६ किलोमिटर टाढा फेला पारेको हो।
अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढोढरीमा राखिएको छ। यसरी उनीहरू भागेपछि प्रहरीले कसरी भागे भन्ने पनि अनुसन्धान गरेको छ।
एसपी शाहीका अनुसार ड्युटीमा खटिएका प्रहरीको पनि कमजोरीका कारण भागेको उनले बताएका छन्।
बिहीबार राति कार्यालयमा बत्ती गएको थियो।
राति बत्ति गएपछि ड्युटीमा खटिएका प्रहरीले उनीहरूलाई उज्यालो भएको ठाउँमा खाना खुवाउन बाहिर निकालेका थिए। हिरासत कक्ष खोलेर ती प्रहरीले चाबीको झुप्पा भने त्यहीँ भुले।
ड्युटीमा खटिएको प्रहरीले भुलेको चाबी अजय र राजाले चोरे। त्यसपछि धैर्य गरेर मौकाको पर्खाइमा बसे।
शुक्रबार बिहान प्रहरीको ड्युटी परिवर्तन भएको मौका पारेर उनीहरू हिरासतबाट भागे।
‘दुई मिनेट प्रहरी नभएको मौकामा उनीहरू निस्किन भ्याएछन्,’ एसपी शाहीले भने।
ढोढरीमा इन्स्पेक्टरको नेतृत्व छ। एसपी शाहीले उनीसहित अन्य प्रहरीमाथि छानविन गरी कारबाही गरिने बताए। प्रहरी नायब निरीक्षक (असई) र दुई जना प्रहरी जवानलाई भने निलम्बन गर्ने तयारी रहेको उनले बताए।