रोटरी क्लब अफ क्यापिटल बुटवलले बिरुवा उपहार दिने अभियान सुरू गरेको छ।
बुटवलका अध्यक्ष भएका विश्वदिपक नेपालले शनिबार आयोजित कार्यक्रममा क्लबका सदस्यहरूलाई कुरिलो र खुर्सानीका बिरूवा उपहार दिएका हुन्। जुलाइ १ देखि सुरू भएको २०२३/२४को कार्यकालमा उनले बिरूवाको उपहार दिएर अभियान थालेका हुन्।
नेपाल कृषि प्रधान देश भएर पनि हरेक वर्ष अर्बौंको तरकारी आयात भइरहेकाले पनि यो अभियान थालेको अध्यक्ष नेपालले बताए।
घरघरमा गमलामा तरकारीका बिरूवा लगाएर थोरै भएपनि तरकारी र खुर्सानीको आयात रोक्नुपर्ने सन्देश दिएको उनले बताए।
‘हरेक परिवारले घरको कौशी र करेशाबारीमा खुर्सानी र कुरिलो लगाउन सके मात्रै पनि करोडौं रकम विदेश जानबाट जोगाउन सकिन्छ,’ उनले भने, ‘कार्यक्रमहरूमा उपहारको नाममा अनुपात्दक र बाहिरबाटै आयातित वस्तु दिनुभन्दा उत्पादन दिने कुनैपनि वस्तु दिनु राम्रो हुन्छ भन्ने सन्देश दिन खोजिएको हो।’
नेपालले कौशी र करेशाबारीमा फुलसँगै कुरिलो र खुर्सानी रोपौं भन्ने सन्देशलाई वर्षैभरी अभियानको रूपमा संचालन गरिने उनले बताए।
अध्यक्ष नेपालले यो अभियानलाई क्लबभित्र मात्र सीमित नराखी यसक्षेत्रका सबै रोटरीयनहरूका बीचमा पुर्याइने बताए।
क्लबका वर्ष २०२३/२४ का एसिष्टेन्ट गभर्नर जमुना पौडेलले रोटरी क्लब अफ क्यापिटल बुटवलले उपहार स्वरूप दिएको कुरिलो र खुर्सानीका बिरूवाको मूल्य सानो भएपनि यो अभियानले दिने सन्देश ठूलो भएकोले यसलाई वर्षैभरी संचालन गर्न आग्रह गरिन्।
क्लबका संस्थापक अध्यक्ष दिनेश पाण्डेले रोटरीले ठूला ठूला परियोजना संचालन गरेर मात्रै मानिसको जिवनमा प्रत्यक्ष प्रभाव पार्न र परिवर्तन गर्न नसकिने भन्दै सानो सानो अभियान चलाउँदा पनि व्यक्ति, परिवार र समाजमा सकारात्मक परिवर्तन गर्न सकिने बताए।