नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान २ बजे पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो।
पहिरोले एउटा ट्रक पल्टिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी वरिष्ट नायब निरीक्षक सुरेन्द्र विष्टका अनुसार पहिरोमा परी दुर्घटना भएको ट्रकका चालक सामान्य घाइते छन्।
अहिले पहिरो पन्छाउने क्रम जारी रहेको उनले बताए। ‘पहिरो पन्छाउने काम लगभग सकिएको छ, अब पौने घन्टामा सञ्चालनमा आउँछ,’ उनले भने।
उक्त स्थानमा पटक–पटक पहिरो खसेको छ । आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो ।
यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् ।
पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।-राससको सहयोगमा