दाङको तुलसीपुरको बुद्ध चोकमा शुक्रबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएकामध्ये एक जना शिक्षकको उपचारका क्रममा मंगलबार निधन भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ५८ वर्षीय खोपीराम अधिकारीको उपचारका क्रममा मंगलबार बिहान पौने ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
अधिकारी तुलसीपुर–११ स्थित आधारभूत विद्यालय कटाहाका प्रधानाध्यापक थिए। दुर्घटना भएको दिन उनी मोटरसाइकलको पछाडि सवार थिए। उनको टाउको, अनुहार लगायतमा गहिरो चोट लागेको थियो।
अधिकारीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि तत्कालै नेपालगञ्ज रिफर गरिएको थियो।
अधिकारी तुलसीपुर–१६ लहलौराका ५६ वर्षीय नवराज डाँगीले चलाएको मोटरसाइकलको पछाडि सवार थिए। डाँगी पनि शिक्षक हुन्। दाङ घोराहीस्थित गोरखा हस्पिटलमा उनको उपचार जारी रहेको प्रहरीले बताएको छ।
त्यस्तै, रा ४ प २८६६ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–६ डुर्मीगाउँका २४ वर्षीय दिपेश चौधरीको बाँकेमा उपचार जारी छ। उनको पछाडि सवार सल्यान जिल्लाको शिद्धकुमाख गाउँपालिका–२ का १८ वर्षीय सुनिल बुढाथोकी उपचारपछि घर फर्किसकेको प्रहरीले बताएको छ। चौधरी मोटरसाइकल मेकानिक हुन्।
घाइते शिक्षक डाँगीले चलाएको रा १ प ८४४६ मोटरसाइकल तुलसीपुर बजारतर्फ आइरहेको समयमा तुलसीपुरबाट दक्षिणविपरीत दिशातर्फ गइरहेको तीव्र गतिको मोटरसाइकलले उनीहरूलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।