ललितपुर महानगरपालिकाले घरमै पुगेर ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई स्वास्थ्य परीक्षण सेवा उपलब्ध दिने भएको छ।
अबदेखि घर-घरमा पुगेर ज्येष्ठ नागरिक (७० वर्षमाथिका) र अपाङ्गता भएका नागरिकलाई स्वास्थ्य परीक्षण सेवा दिने ललितपुर महानगरपकालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिए।
उनका अनुसार आधारभूत औषधि समेत निः शुल्क दिइने छ। यस्तै ज्येष्ठ नागरिकलाई घर-घरमा पुगेर साधारण र विशिष्ठ स्वास्थ्य सेवा उपलब्ध गराइने छ।
‘यो नयाँ कार्यक्रम र टिमवर्क हो, सहकार्य गरेर अघि बढौं,' मेयर महर्जनले भने, 'सेवासुविधा दिन महानगरबाट कुनै कमी हुन दिदैँनौ।’
यस्तै नेपाल हृदयरोग प्रतिष्ठानका बलराम न्यौपाने खानपिनलाई ख्याल नगरेको र क्रियाशील जीवनशैली नभएकाले मुटुरोगका रोगीको संख्या बढ्दै गएको बताए।
‘घर घरमा पुगेर मुटुरोग र उच्च रक्तचापको बारेमा बुझाउने र नगरबासीलाई यसबारे शिक्षा दिने काम गर्छौं', उनले भने।
सोमबार महानगरभित्र बसोबास गर्ने ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई मुट, मिर्गौला र आँखाको परीक्षणको सुविधा दिन नेपाल हृदय रोग निवारण, नेपाल नेत्र ज्योति संघ (कीर्तिपुर आँखा अस्पताल) र ललितपुर महानगरबीच समझदारी पत्रमा हस्ताक्षरण भएको हो।
यस्तै, मिर्गौला जोगाउन र उपचार गर्न मेडिसिटी अस्पताल, मिर्गौला बचाउ अभियान र ललितपुर महानगरबीच समझदारी भएको हो।