काठमाडौं महानगरपालिकाले फिल्म हल, फन पार्कलगायतलाई ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन र मनोरञ्जन करका लागि पहुँच दिन निर्देशन दिएको छ।
मंगलबार महानगरभित्रका मनोरञ्जन कर तिर्ने सबै संस्थाहरूलाई पत्र काटेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए सञ्चालनमा ल्याई सबै डिजिटल विवरणको पहुँच महानगरपालिलकालाई दिन आग्रह गरेको महानगरका राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए।
उनका अनुसार कर छली गरिएको छ कि छैन भनेर नियमन गर्न मनोरञ्जन करदाताको डिजिटल प्रणालीको डाटा माग गरिएको हो।
'डिजिटल प्रणालीमा भएका मनोरञ्जन करदाताले कर छली गर्नुभएको छ कि छैन भनेर हेर्न खोजेका हौं,' उनले भने, 'कतिपय मनोरञ्जन करदाता डिजिटल प्रणालीमा आउनु नै भएको छैन। जसले गर्दा दैनिक मनोरञ्जन कर तिर्नेको संख्या पनि थाहा पाउन सकिएको छैन।'
यस्तै काफ्लेका अनुसार दैनिक मनोरञ्जन कर तिर्नेको संख्या र कर छली कसैले गरेको छ कि छैन भनेर जाँच गर्न सबैको डाटाको एक्सेस मागिएको हो।
महानगरले अष्टनारायण पिक्चर्स, कलंकी सिनेमा, सार्थक इन्टरटेन्मेन्ट, केएल सिनेमा सिटी, कोर प्लान विल्डर्स, गोपीकृष्ण मुभिज, ओकुलर होल्डिङ्स, दरबार सिनेम्याक्स, रञ्जना सिनेप्लेक्सलगायतलाई डिजिटल विवरण बुझाउन पत्र पठाएको छ। यस्तै काठमाडौं फनपार्क भृकुटीमण्डपलाई पनि पत्र पठाएको हो।
मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भएमा भने ३ दिनभित्र प्रणालीमा विवरण प्रविष्ट गर्न पनि भनेको छ।
मनोरञ्जन कर फनपार्क, सिनेमा हल, स्वीमिङ पुल, दोहोरी साँझ लगायतले तिर्ने गर्छन्।
