मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भूभागमा पानी परिरहेको छ।
पछिल्लो तीन घन्टा सप्तरीको राजविराज र आसपास भारी वर्षाको मापन भएको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती र यी नदीका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने सम्भावना छ ।
आज बिहानको मापन अनुसार यी नदीहरूको जलसतह सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको महाशाखाले जानकारी दिएको छ।
त्यस्तै पूर्वी राप्ती, बबई नदी र यसका सहायक नदीहरूको जलसतह सामान्य बढ्ने आकलन छ।
महाशाखाका अनुसार आज इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनुपर, डडेलधुरा, बैतडी र आसपास भइ बहने केही ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम समेत रहेको छ।
त्यस्तै रसुव, काभ्रेपलाञ्चोक, ललितपुर, नुवाकोट, गोरखा, लमजुङ, कास्की, पाल्पा, स्याङ्जा, डोटी र आसपास भइ बहने नदीहरूमा पनि बहाब बढ्न सक्ने महाशाखाले जनाएको छ।
लगातारको वर्षाका कारण आएको बाढी र पहिरोका कारण तीन वटा राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन् भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन्।
बाढी पहिरोको जोखिम भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सडक विभागले आग्रह गरेको छ।