ललितपुर महानगरपालिकाका ६० हजार घरले घर नम्बर पाएका छन्।
महानगरले सडक सञ्जालमा आधारित मेट्रिक ठेगाना प्रणालीमा ६० हजार ९ सय ८८ घरलाई घर नम्बर दिएको महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर कुमार महर्जनले जानकारी दिए।
उनका अनुसार घर नम्बर वितरणको काम अहिले अन्तिम चरणमा पुगेको छ। अब १० प्रतिशत काम मात्रै बाँकी छ।
केही ठाउँमा सडक र टोलको नामको विवादका कारण घर नम्बर विवरणमा समस्या भएको हुँदा बाँकी रहेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए।
‘नम्बर वितरण गर्दा समस्या भए वडाले नै सम्बोधन गर्नुपर्छ, त्यस्ता समस्या महानगरमा पठाउनु हुँदैन,’ उनले भने।
महानगरले एकल बसोबास ,संयुक्त आवास, बहुतल्ले आवास, व्यवसायिक भवन, कार्यालय तथा संस्था ,मठमन्दिर लगायतलाई घर नम्बर पाएक छन्।
यस्तै महानगरभित्रका एक हजार दुई सय ८५ मुख्य सडकको नामाकरण भएको भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए।
उनका अनुसार यसरी घर नम्बर वितरणले राजश्व संकलनमा पनि सहज हुन्छ।
'सडक सञ्जालमा आधारित घर नम्बर लागू गर्दा सडकको मुख्य चोकबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ बिजोर नम्बर प्रदान गरिएको छ,' उनले भने, 'सडक सुरू विन्दुबाट नाप्न सुरू गरी घरको मूल गेटसम्मको दुरी जति हुन्छ, त्यसकै आधारमा नम्बर वितरण गरिएको छ।'
घर नम्बरले सहरलाई सुन्दर बनाउनुका साथै र व्यवस्थित बनाउन निकै सहयोग पुर्याउने उनको भनाइ छ।
अर्यालका अनुसार सडक सञ्जालको नामाकरण गर्दा स्थानीय प्रचलित नामलाई प्राथामिकता दिइएको छ। विभूतिको नाम, सांस्कृतिक नाम र चलनचल्तीको नामलाई समेत प्राथामिकता दिइएको महानगरले जनाएको छ।
महानगरले घर नम्बर वितरण काम एक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको जनाएको छ।