चितवनको मेघौलीमा बस्तीमा पसेर आतंक मच्चाएको बाघलाई नियन्त्रणमा लिइएको छ।
बेहोस बनाउने औषधि राखिएको सुइँलाई बन्दुकमा लोड गरेर प्रहार गरी वन्यजन्तुलाई नियन्त्रणमा लिइन्छ। यो बाघले गएराति भरतपुर–२७ बुद्धनगर गाउँमा पसेर भैंसीलाई आक्रमण गरेको थियो।
घण्टौंसम्म बस्ती नजिकैको जंगलमा रुँगिराखेपछि स्थानीय बासिन्दा त्रसित भएका थिए।
उक्त बाघलाई चितवन निकुञ्जका हात्तीहरूले घेरेर निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिकहरूले नियन्त्रणमा लिएका थिए।
नियन्त्रणमा लिइएको बाघको अवस्था हेरेर कता राख्ने भन्ने निर्णय गर्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।
अहिले निकुञ्जका इन्क्लोजरहरूमा पाँच वटा बाघ छन्। मान्छेमाथि आक्रमण गरेपछि ती बाघहरूलाई नियन्त्रणमा लिइएको थियो। निकुञ्जमा अब एउटा पुरानो इन्क्लोजरमात्रै बाँकी छ।