वैदेशिक रोजगारीका लागि कुवेत गएकी हुम्लाकी एक महिला घरेलु कामको बहानामा बन्धक बनेकी छन्।
हुम्लाको अदानचुली गाउँपालिका-४ की धनकौरा रावल (दर्शना) कुवेत पुगेदेखि आफूलाई बन्धक बनाइएको भन्दै फेसबुकमार्फत सन्देश पठाएकी छन्।
उनी भदौ ११ गते रोजगारीका लागि कुवेत गएकी थिइन्। अहिले आफू पुगेको ठाउँमा मानसिक यातना पाइरहेको भन्दै आफ्ना श्रीमानलाई भिडिओ सन्देश पठाएकी हुन्।
उनले श्रीमानलाई पठाएको भिडिओ सन्देशमा आफूले लगातार बिहान ६ बजेदेखि राति १२ बजेसम्म घरको काम गर्नुपरेको बताएकी छन्। सन्देशमा उनले केही दिनदेखि आरामसँग बस्न र सुत्न पनि नपाएको बताएकी छन्।
‘के गर्ने भन्ने उपाय पनि केही छैन, न राम्रोसँग खाना पाउँछु, न राम्रोसँग लगाउन पाउँछु, न त आरामले बस्न पाउँछु,’ भिडिओ सन्देशमा उनले भनेकी छन्, ‘बिहान ६ बजेदेखि राति १२ बजेसम्म कामैकाम मात्र गराउँछ, अलिकति काम बिगार्ने वित्तिकै मलाई पिट्न लगाउँछ। म त यहाँ बसेर बाँच्न सक्दिनँ, मलाई जसरी भएपनि घर फकाईदिनुस्।’
दर्शनाका श्रीमान मंगले रावलका अनुसार उनलाई कुवेत पठाउने कम्पनी र एजेन्टहरूले दैनिक ८ घण्टा मात्र हाउजिङको काम गर्नुपर्छ भनेका थिए। उनी कुवेत गएको भोलिपल्ट देखि नै घरेलु कामदारको रूपमा काम गरिरहेको उनले बताए।
‘आठ घण्टा मात्र हाउजिङको काम हुन्छ, काम गर्ने अरू पनि धेरै महिला साथी हुन्छन् भनेर यहाँबाट पठाएका हुन्,’ मंगलेले भने, ‘त्यहाँ गएको १०–११ दिनमै रूँदै म्यासेज गरिन्, उनलाई अहिले त्यहाँ घरेलु काम गर्ने भनेर बन्धक बनाएर राखिएको रहेछ।’
दर्शनाले शौचालय गएर उक्त भिडिओ रेकर्ड गरेर आफूलाई पठाएको उनले बताए।
उक्त भिडिओ सन्देशबाहेक श्रीमतीसँग अरू कुनै पनि कुराकानी हुन नसकेको उनले बताए। उनलाई त्यहाँ पठाउने एजेन्ट एक जना सुर्खेतकै रहेको मंगलेले बताए। आफूले यसबारेमा प्रशासनमा निवेदन दिइसकेको उनले बताए।
‘प्रशासनमा यो कुराको निवेदन दिएको छु, अहिले तीन जनालाई पक्राउ गरी ल्याएको छ,’ उनले भने, ‘छलफल भएको छैन, छलफल गरेपछि कस्तो निष्कर्ष निस्किन्छ थाहा छैन।’
बाल्यकालमा दर्शनाको टाउकोमा लागेको चोटका कारण निरन्तर काम गर्न समस्या हुने गरेको उनले बताए। तर वैदेशिक रोजगारीमा पठाउँदा म्यानपावरले आफ्नो फाइदाको लागि राम्रोसँग स्वास्थ्य परीक्षण नै नगरी पठाएको श्रीमान मंगलेले बताए।
३६ वर्षीया दर्शनाको माइतीघर हुम्लाको अदानचुली गाउँपालिका–५ मा हो। वडा नम्बर ४ मा उनको विवाह भएको हो। दर्शना, उनका श्रीमना र तीन जना छोराछोरी पाँच वर्षदेखि काठमाडौंमै बस्दै आएका थिए। चन्द्रागिरी–३ मा उनीहरूको तरकारी खेती छ। अहिले उक्त खेती श्रीमानले सम्हालिरहेका छन्। दर्शनाका दुई छोरी, एक छोरा छन्।