प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाई स्थिर वातावरण खलबल्याउने कुनै पनि स्वार्थप्रेरित समूहको क्षणिक र दूरगामीविहीन प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन सेनालाई निर्देशन दिएका छन्।
प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएका अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उनले भने, ‘नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ।’
सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र जनविश्वासका लागि सकल दर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यवाद ज्ञापन गर्दै उनले सैन्य संगठन आजको भोलि तयार गर्न सकिने विषय नभएको बताए।
प्रधानसेनापति शर्माले भने, ‘लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सबल र सुदृढ हुँदै जाने संगठित र अनुशासित संगठन नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीअनुसार सदैव चलिरहन्छ।’
उनले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षाका साथै आगामी कार्यदिशा बारेमा जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधानसेनापति शर्माले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा माल्यार्पण गरे।
उनले कर्तव्य पालनाको सिलसिलामा घाइते भएका सकल दर्जाको योगदानको उच्च मूल्यांकन गर्दै उपचारका क्रममा रहेको सबैको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै सकल दर्जालाई संस्थागत हितमा केन्द्रित रहन प्रेरणा मिलोस् भनी कामना गरे।