कपिलवस्तुमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
शिवराज नगरपालिका-१ शिवपुरमा रूखमा चढेर घाँस काट्ने क्रममा ५० वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो।
आइतबार बिहान जंगलमा घाँस काट्न जंगल गएका थापालाई रूखमा जोडिएको विद्युतीय तारबाट करेन्ट लागेको थियो।
जंगलबाट घाँस दाउरा ल्याउने र स्थानीयलाई बिक्री गर्दै आएका थापा आइतबार बिहान पनि घाँस काट्न जंगल गएका थिए। शिवराज-१ का वडा अध्यक्ष खिमविक्रम केसीले आइतबार बिहान पानी परिरहेको र रूखमा छोइएको विद्युतको तारबाट करेन्ट लागेर थापाको मृत्यु भएको जानकारी दिए।
करेन्ट लागेर घटनास्थलमै मृत्यु भएका थापाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको चन्द्रौटा प्रहरीले जनाएको छ।