त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले ९६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए।
सोमबार दुबईबाट आएको हिमालयन एयरको जहाजमा रहेका यात्रुबाट उक्त सुन बरामद भएको हो। एक जनालाई सोमबार पक्राउ गरिएको थियो। अरू दुई जनालाई मंगलबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका घर भई पनौती नगरपालिका-५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोही गाउँपालिका-३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान छन्।
दोङ दुबईबाट आएका थिए। उनले भन्सार छलेर अवैध सुन ल्याएको भन्ने विशेष सूचनाको आधारमा परिसरको टोली खटिएको थियो।
त्यसक्रममा सोमबार बिहान ११ बजे विमानस्थल बाहिर हिँड्दै गरेको अवस्थामा फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले सुन मलद्वारमा लुकाएर ल्याएका थिए। प्रहरी वृत्त गौशाला पुर्याएर उक्त सुन बरामद गरिएको थियो।
परिसरले यसमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको छ।