मंगलबार साँझ पौने ६ बजेतिर धरानका उपमेयर अइन्द्रविक्रम बेघाको धरान–१५ स्थित निवासमा एक हुल युवा प्रवेश गरेर उनका भाइ विष्णुमाथि कुटपिट गरे।उनीमाथि धारिलो हतियारसमेत प्रहार भयो। घरमा तोडफोडसमेत भएको छ।
घटनापछि उपमेयर बेघाले प्रहरीले समयमा सुरक्षा नदिएको भन्दै असन्तोष पनि प्रकट गरेका थिए।
प्रहरीले यो घटना कुनै राजनीतिक कारणले नभएको बरू युवाहरूबीचको ग्याङफाइटको परिणाम भएको जनाएको छ।
‘यो घटना कुनै राजनीतिक, सामाजिक कारणले भएको होइन’, सुनसरी प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले भने, ‘दुई युवा समूहबीचको झगडाको परिणाम हो। हामीले दुवै पक्षका आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं।’
प्रहरीले उपमेयरका भाइ विष्णु बेघासहित आठ जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बेघा सहितको युवा समूहले धरान १५ सूर्यबस्तीका सन्देश राईमाथि कुटपिट गरेको थियो। त्यसक्रममा सन्देश राईमाथि धारिलो हतियार प्रहार भएको र उनको कम्मरमा गहिरो चोट लागेको छ।
प्रहरी प्रवक्ता भण्डारीले घटनाको अनुसन्धान जारी रहेको बताउँदै थप विवरण खुलाउन इन्कार गरेका छन्। तर, युवा समूहलाई पक्राउ गर्न खटिएका प्रहरीहरूका अनुसार दिउँसो सन्देश राईलाई कुटपिट गरेका उपमेयरका भाइमाथि त्यसको बदलामा बेलुका घरैमा पुगेर अर्को समूहले आक्रमण गरेको हो।
घाइते सन्देशको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
सुनसरी प्रहरीले विष्णुसहित उनको समूहका सुरज तामाङ, मेनल तामाङलाई पक्राउ गरेको छ भने सन्देश राई समूहका अमृत तामाङ, अनिल मगर, दीपेन्द्र राई, सञ्जीव राईलाई पक्राउ गरेको छ।
प्रहरीले यो घटनालाई राजनीतिक रङ नदिन पनि आग्रह गरेको छ।
‘युवा समूहबीचको लडाइँ हो’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘यसमा उपमेयरज्यूलाई जोड्न जरूरी छैन। उहाँसँग सम्बद्ध घटना होइन। यत्ति हो, भाइमाथि घरैमा आक्रमण भएको हो।’