अनुमतिबिनै स्वास्थ्य सेवा सञ्चालन गरेपछि धनगढीका दुई अस्पताललाई बन्द गरिएको छ।
धनगढीमा रहेको स्वस्तिक हस्पिटल र सञ्जिवनी अस्पतालले अनुमति नलिई सेवा सञ्चालन गरेको भन्दै बन्द गरिएको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीमा बिनाअनुमति अस्पताल सञ्चालन गरेको भन्दै उजुरी परेको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय कैलाली, स्वास्थ्य निर्देशनालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, धनगढी उपमहानगरपालिकाको टोलीले धनगढीमा तीन अस्पतालमा अनुगमन गरेको थियो।
तीमध्ये दुई अस्पतालमा स्वास्थ्य सेवा सञ्चालन अनुमति नै नलिई सेवा प्रवाह गरेको भन्दै सेवा बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए।
‘हामीले धनगढीका तीन अस्पताल सोमबार अनुगमन गर्याैं, शौभाग्य अस्पतालमा भने बसै कागजात भेटियो, स्वस्तिक र सञ्जिवनीमा भने सञ्चालनका लागि अनुमति नलिएको भेटिएपछि बन्द गर्न निर्देशन दिएको हो,’ उनले भने।
बन्द गर्ने निर्देशन अनुसार सञ्जिवनी अस्पताल र स्वस्तिक कार्डियो मल्टीस्पिसियालिटी अस्पतालले सेवा बन्द गरेका छन्।
१५ शय्या सम्मको अस्पताल सञ्चालनका लागि स्थानीय तह, २५ देखि २ सय शय्या अस्पताल सञ्चालनका लागि स्वास्थ्य निर्देशनालय त्योभन्दा माथिको अस्पताल सञ्चालनका लागि केन्द्र सरकारको स्वास्थ्य मन्त्रालयबाट अनुमति आवश्यक पर्छ। १५ शय्यासम्म सञ्चालनको सेवा प्रवाहका लागि यी अस्पतालले आवश्यक मापदण्ड पूरा नगरेका कारण बन्द गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर जगदिश जोशीले जानकारी दिए।
जोशीका अनुसार अनुमति पत्र सञ्चालन नलिएसम्म यी अस्पताल बन्द हुनेछन्।
दर्ताका लागि धनगढी उपमहानगरपालिकामा कागज पेश गरेको भए पनि सञ्चालनका लागि अहिलेसम्म अनुमति नपाएको बन्द भएका अस्पतालले जनाएका छन्।
यी अस्पताल बन्द गरिएपछि धनगढीमा अनुमति बिना अन्य अस्पतालहरू पनि सञ्चालनमा रहेको भन्दै अनुगमन गरेर बन्द गर्नुपर्ने माग चौतर्फी उठ्न थालेको छ।