धनुषामा ह्वाङ्गै छाडिएको मंगालमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ।
धनुषाको जनपुरधाम उपमहानगरपालिका-२५ केउटानी टोलमा ह्वाङ्गै छोडिएको मंगालमा डुबेर २ वर्षीय रोहन मुखियाको मृत्यु भएको हो।
घर वरपर खेलिरहेका रोहन कतै नदेखिएपछि परिवारले खोजी गर्दा मंगालमा डुबेको अवस्थामा भेटिएका थिए।
उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले बालकको मृत्यु भएको घोषणा गरेको थियो।
केउटानी टोलमा दुई वर्षअघि नै सडक ढलान गरिएको थियो। सडक ढलान गरिएपनि मंगाल दुई वर्षदेखि नै ह्वाङ्गै छ।
२ वर्षीय बालकको मृत्यु भएपछि केउटानी टोल शोकमग्न छ। त्यहाँ अन्य स्थानमा पनि मंगाल ह्वांगै छाडिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।