हेटौंडास्थित सञ्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट गर्नेविरूद्ध नेपाल चिकित्सक संघले जाहेरी दिएको छ।
शुक्रबार बिहान १० बजेतिर संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए।
उनले हिजै जाहेरी दिने भनिए पनि विभिन्न पक्षसँग छलफल गर्दा ढिला भएको उल्लेख गर्दै आज बिहानमात्र जाहेरी दर्ता गरेको बताए।
‘हिजो साथीहरूसँग र राजनीतिक दलहरूसँग बैठक गरियो। फेरि स्थानीय चिकित्सकरूको सुरक्षाको कुरा पनि आयो। त्यसैले नेपाल चिकित्सक संघ सँगै कुरा गरेर आज बिहान संस्थागत हिसाबले नै जाहेरी दर्ता गरिएको छ,’ डाक्टर सापकोटाले भने।
गत बुधबार बिहान १० बजे उक्त घटना भए पनि दुई दिनसम्म कसैले पनि जाहेरी दिएको थिएन भने प्रहरीले पनि आक्रमण गर्नेलाई पक्राउ गरेको थिएन। जबकी घटनापछि आक्रमण गर्ने र कुटाइ खाने चिकित्सक दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सँगै राखेर छलफल गराएको थियो।
नेपाल चिकित्सक संघले पनि यो घटनालाई लिएर तत्कालै जाहेरी लिएर प्रहरी कार्यालय पुग्नुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुग्यो। पछि प्रधानमन्त्रीले गृह मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएपछि बिहीबार दिउँसो प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गर्यो।
चिकित्सकमाथि भएको कुटपिटको विरोधमा शुक्रबारदेखि हेटौंडाका सबै अस्पतालले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। कुटपिटबाट घाइते भएका डाक्टर विकास थापा उपचारका लागि काठमाडौंमा छन्। उनको मुखको हड्डी भाँच्चिएको छ भने अर्का डाक्टर प्रशान्त विडारीको अनुहार चोट लागेको छ।
यसरी भएको थियो घटना
गत साउन २२ गते हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको हेटौंडास्थित सञ्चो अस्पतालमा उपचार गरिएको र पछि अस्पतालले भरतपुरस्थित चितवन मेडिकल कलेजमा रेफर गरेको तीन दिनपछि बिरामीको मृत्यु भएको थियो।
अस्पतालका अनुसार बिरामीलाई साउन २२ गते दिउँसो अस्पताल ल्याइएको थियो। डेंगीबाट ग्रसित उनमा निमोनियाको समस्या देखिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालले आइसियूमा राखेर उपचार गर्नुपर्ने परिवारलाई सुनायो। तर परिवारले आइसियूमा राख्न मानेन। वार्डमै उपचार थाल्न अस्पतालसँग आग्रह गर्यो। अस्पतालले बिरामीको हेरचाह पनि अलिक राम्रो हुन्छ भनेर एचडियूमा भए पनि राखौं भनेर आग्रह गरेपछि परिवार सहमत भयो।
एचडियूमा राखेको एक दिन पनि नभई बिरामीको अवस्था थप जटिल देखिएपछि आफूहरूले भोलिपल्टै चितवन मेडिकल कलेजमा रेफर गरेको र त्यहाँ तीन दिनपछि बिरामीको मृत्यु भएको डाक्टर विडारीले बताए।
उनले बिरामीको मृत्यु भएको भोलिपल्ट पनि परिवार र आफन्त सदस्यहरू सञ्चो अस्पतालमा आएको र अस्पतालले बिरामीको मृत्यु हुनु अघिको अवस्थाबारे बताएर घर पठाएको बताए।
एक महिनापछि बुधबार बिहान परिवारका सदस्यसहित एक हुल मानिस उपचारमा संलग्न चिकित्सकमाथि आक्रमणमा उत्रिएका हुन्।
अस्पतालका अनुसार घटना बुधबार बिहान १० बजेतिरको हो। बिरामीको राउन्डिङ गरिरहेको बेला २०-२५ जनाको हुल आएर एक्कासी आफूहरूमाथि कुटपिट गरेको डाक्टर विडारीले बताए।
‘डाक्टर विकास र म दुबै जना बिरामीको राउन्डिङमा थियौं। त्यही बेला पाँच जना जति मानिस आएर कुरा गर्नु छ भन्नुभयो। ठिकै छ एकैछिनपछि कुरा गरौंला भनेर हामी बिरामीको राउन्डिङमै थियौं। तर हामी राउन्ड लिँदालिँदै बाहिर २०-२५ जनाको हुल भेला भइसकेको रैछ। त्यसपछि एक्कासी हुल आएर डाक्टर विकासलाई तान्यो र मुक्का हानिहाल्यो। मैले डाक्टर विकासलाई तान्न खोज्दा मलाई पनि धमाधम हान्न थाल्यो। पछि कोठामा लगेर समेत कुटपिट गर्यो,’ डाक्टर विडारीले भने।
कुटपिटबाट डाक्टर थापाको मुखको हड्डी भाँच्चिएको छ भने डाक्टर विडारीको अनुहारमा चोट लागेको छ।
बुधबारको घटनालगत्तै प्रहरीको टोली पनि घटनास्थलमा पुगेको थियो। तर प्रहरीले आक्रमण गर्नेलाई पक्राउ गर्नुको सट्टा उल्टै घाइते चिकित्सकलाई कुराकानीका लागि जिल्ला प्रहरी कार्यालय लगेको उल्लेख गर्दै डाक्टर विडारीले भने- हिजोको घटनामा प्रहरी पक्षबाट पनि कमजोरी भएको देखियो। किनकी कुटपिटबाट घाइते भएका हामीलाई अस्पताल लैजानु पर्नेमा कुराकानीका लागि जिल्ला प्रहरी कार्यालय लगेर गयो।’
जिल्ला प्रहरी कार्यालयमा एसपीसहितको रोहबरमा भएको कुराकानीको क्रममा आक्रमणकारीले त्यहाँ पनि आफूहरूलाई धम्क्याएको डाक्टर विडारीले बताए।
आफूहरूलाई आक्रमण गर्ने टोलीले एसपीकै अगाडि पनि मान्छे काट्ने धम्की दिएको उल्लेख गर्दै उनले भने, ‘उनीहरूले एसपीकै अगाडि जो-जो डाक्टरले जाहेरी दिन्छ सबैलाई काटेर हिँड्छौं भने। एसपीकै अगाडि काटेर हिँड्छु भनेपछि मुद्दा हाल्ने आँट कसरी आउँछ? कतिले त हामी जेल गइरहेकै मान्छे हो बाल छैनसमेत भने। त्यसपछि हामी केही नभनी त्यहाँबाट उठेर हिँड्यौं।'