राष्ट्रपति रामचन्द्र पौडेलले पाँच जना चिकित्सकहरूलाई अवार्ड प्रदान गरेका छन्।
नेपाल चिकित्सक संघले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ शुक्रबार राष्ट्रपतिले चिकित्सकहरूलाई प्रदान गरेका हुन्।
डाक्टरहरू अर्चना अमात्य, गीता शाक्य, मीता सिंह, कोकिला वैद्य र प्रमिला प्रधानलाई अवार्ड प्रदान गरिएको हो।
साथै राष्ट्रपति पौडेलले संघले प्रदान गर्ने ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’ डा. दिव्यश्वरी श्रेष्ठ, डा. लता बज्राचार्य, डा. शोभा अर्याल, डा. कस्तुरी मल्ल र डा. गीता कार्की रानालाई प्रदान गरेका छन्।
नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा उनीहरूले पुर्याएको योगदानको कदर गर्दै संघले सो सम्मान गरेको हो। उनीहरूलाई ट्रफी, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।
सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षा जस्ता संविधानले नै नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेको विषयका आधारभूत सेवालाई प्रभावकारी रुपमा कार्यान्वन गर्न सरकार सदैव प्रयत्नशील रहेको बताए।
उनले स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन पर्याप्त दरबन्दी आवश्यक रहेको र मुलुकमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति तयार गर्न बेलैमा ध्यान दिन सक्नुपर्ने बताए।
कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की र सम्मान छनौट समितिका संयोजक किरण रेग्मीले संघले गर्दै आएका कार्यबारे जानकारी गराएका थिए।