पोखराको फोहोर व्यवस्थापन गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र संघीय कार्यक्रम (युएनडिपी) ले झण्डै डेढ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। उक्त लगानीसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको हो।
महानगरबाट उत्पादित फोहोर पुन: प्रयोग गरी आम्दानी गर्ने र रोजगारी सिर्जना गर्न उक्त सम्झौता भएको पोखरा महानगरले जनाएको छ।
सम्झौता अनुसार कोइकाले पोखराको फोहोर व्यवस्थापन गर्न ९.८ मिलियन अमेरिकी डलर अर्थात् १ अर्ब ३० करोड ११ लाख रुपैयाँ सहयोग गर्नेछ भने युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर अर्थात् ११ करोड ५५ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएको मेयर धनराज आचार्यले जानकारी दिए।
यी दुबै संस्थाले पोखराको फोहोर व्यवस्थापन गर्न कुल १ अर्ब ४१ करोड ६६ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएको आचार्यले बताए।
सम्झौतामा महानगरको फोहोर पुन: प्रयोग गर्न रिसाइक्लिङ र अपसाइक्लिङमार्फत् हरित रोजगारी सिर्जना गर्ने उल्लेख छ।
सम्झौता पत्रमा मेयर आचार्य र कोइकाका उपप्रमुख युन यंग लीले हस्ताक्षर गरेका छन्।
उक्त परियोजना सुरू गर्न यसअघि अगष्ट ३० मा प्रारम्भिक मस्यौदामा हस्ताक्षर भएको थियो। सम्झौता अनुसार फोहोरमैला रिसाइकल र अपसाइकल गर्ने उद्यमीलाई सहयोग गर्न ग्रिन भेन्चर जोन स्थापना गरी आर्थिक, प्राविधिक र बजारको व्यवस्था गर्नेछ। यसका लागि महानगरले लेकसाइडको बसुन्धरा पार्कमा ५ हजार ९० वर्ग मिटर क्षेत्रफल उपलब्ध गराउने पनि सम्झौता पत्रमा उल्लेख छ।
परियोजनाले पोखराका ८१ वटा टोलमा फोहोरको पुन: प्रयोग गरी आम्दानी गर्न सक्ने उद्यमी र रोजगारी सिर्जना गर्ने मेयर आचार्यले बताए।
फोहोरबाट उत्पादित वस्तुको बिक्री गर्न कोसेली घर स्थापना हुने र उक्त क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने उनको दाबी छ।
उक्त परियोजना लागु गर्न डिपिआर बनाउने टेण्डर आह्वान भइसकेको भन्दै उनले छिट्टै कार्यान्वयनमा जाने बताए।
कोइकाका उपप्रमुख युन यंग लीले यस परियोजनामार्फत् रोजगारीको सिर्जना हुने बताए।
‘यस परियोजनाले युवाहरूलाई रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान दिने विश्वास लिएको छु’, उनले भने, ‘फोहोरमैलाको उचित व्यवस्थापन गरी चक्रिय अर्थतन्त्रको सिर्जनशील उपयोग समुदायका लागि आवश्यक छ।’
सम्झौताले पोखराको फोहोर व्यवस्थापन गरी आयआर्जनमा रूपान्तरण गर्न सहयोग पुग्ने मेयर आचार्यले बताए।
‘परियोजनाले चुनौतीपूर्ण बनेको पोखराको फोहोर व्यवस्थापन सहयोग पुग्छ,’ उनले भने, ‘यसबाट युवाहरूलाई रोजगारीसँगै फोहोरलाई मोहोरमा बदल्न सकिन्छ।’