काठमाडौंमा सुनौलो रंगको दुर्लभ कछुवा बेच्न खोजेको आरोपमा ६ जना पक्राउ परेका छन्।
टोखा नगरपालिका-५ स्थित सुनकोशी क्याफेबाट कछुवासहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।
अवैध रूपमा कछुवाको कारोबार भइरहेको भन्ने सूचना पाएपछि बिहीबार प्रहरी वृत्त महाराजगन्जबाट डिएसपी अमरबहादुर थापाको कमान्डमा टोली खटिएको थियो।
खटिएको टोलीले उक्त क्याफेबाट कछुवासहित ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका-१० बन्थलीका ३२ वर्षीय जयराम घिमिरे,. नमोबुद्ध नगरपालिका-२ पातलेका २६ वर्षीय रहर तामाङ, उदयपुर त्रियुगा नगरपालिकाका ३८ वर्षीय राजकुमार राई, पनौतीका ४२ वर्षीय नारायण थामी र २८ वर्षीय रूपक बस्नेत छन्।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले उक्त कछुवा ३५ लाखमा कारोबार गर्न लागेको खुलेको एसपी ढंगेलले बताए।
यसको थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौंमा पठाएको छ।