जनकपुरधाम धनुषामा घुमुवा प्रहरी भन्दै सर्वसाधारणलाई धम्क्याएर पैसा उठाउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
कमला नगरपालिका–३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो।
ज १० प ३७०५ नम्बरको मोटरसाइकलमा २ जना सवार भई घुमुवा प्रहरी भन्दै डर धम्की देखाई नगद ४ हजार रुपैयाँ लुटेर भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमले जनकारी दिए।
उनका अनुसार विदेह नगरपालिका ३ चिकना महिनाथपुरस्थित भित्री सडक खण्डबाट बिहीबार उनलाई पक्राउ गरिएको हो।
मोटरसाइकलमा सवार अर्का युवक भने फरार भएका छन्।
मोटरसाइकलसहित पक्राउ परेका यादवलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको र फरारको समेत खोजी भइरहेको प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए।