गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा महेश कुमार श्रेष्ठले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।
संघको ११ औं महाधिवेशनका लागि श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
एनआरएनएको महाधिवेशन आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा हुँदैछ।
‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ श्रेष्ठले आगामी दुई वर्षको लागि पाँच नीतिगत योजनासहितको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका थिए।
श्रेष्ठले दुई वर्षे कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने, गैरआवासीय नेपालीहरूको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरू गरिएको रु १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने पहिलो प्राथमिकतामा राखेको बताए।
श्रेष्ठले अबको कार्यकाल एनआरएनएको हकहित र अधिकार, जन्मभूमिका नेपालीलाई कर्मभूमिका नेपालीको साथ, समुन्नत नेपालको संकल्प, संरचनात्मक सुधार र संस्थागत विकास र प्राथमिकतामा युवा महिला तथा दोस्रो पुस्ता गरी पाँच नीतिगत योजनाहरूलाई समेट्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा संघका पूर्व सल्लाहकार हरिबोल भण्डारी, उपाध्यक्षद्वय नरेन्द्र भाट र राज रेग्मी, प्रवक्ता सोम सापकोटा, सचिवद्वय प्रवीण गुरूङ र गंगाधर गौतम, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, पूर्व आइसिसी सदस्यहरू बिमल सुवेदी, अर्जुन कुमार श्रेष्ठ, एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष बुद्धि सुवेदी लगायतले शुभकामना प्रदान गरेका थिए भने महासचिव केशव पौडेलले स्वागत गरेका थिए।
त्यस्तै, जुममार्फत् संसारभरि रहेका एनआरएनए राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी तथा अभियन्ताहरूले पनि शुभकामना दिएका थिए।