भक्तपुरमा हराइरहेकी एक जना वृद्धा मृत फेला परेकी छन्।
मध्यपुर ठिमी नगरपालिका-४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा एक वृद्धाको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
शनिबार जंगलमा घाँस काट्न गएकी एक महिलाले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। मृतक साढे एक महिना अघिदेखि बेपत्ता रहेकी सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षीया परमेश्वरी दाहाल छिन्।
प्रारम्भीक अनुसन्धानबाट उनको झुन्डिएर मृत्यु भएको देखिएको छ। मृतक परिवारले शव पहिचान गरिसकेका छन्। मृतककी छोरी जानुका दाहालले गत साउन १० गते आमा हराएको भन्दै प्रहरी वृत्त ठिमीमा जाहेरी दिएकी थिइन्।
जाहेरी पछि परिसर, केन्द्रीय अनुसन्धान ब्युरो समेतको टोलीले खोजी गरेको थियो। मोबाइलको लोकेशन समेत त्यही जंगलमा देखाएपनि फेला परेकी थिइनन्।
शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।