प्रशासन, व्यवस्थापन र विकास केन्द्र (कामाद) का लेखकहरूले अन्तर्क्रिया गरेका छन्।
कामाद जर्जन (पत्रिका) २५ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आइरहेको छ। उक्त पत्रिकामा लेख लेख्नेहरूबीच गत शुक्रबार काठमाडौंमा अन्तर्क्रिया भएको हो।
कामादलाई आगामी दिनमा थप परिस्कृत र परिमार्जनसहित अगाडि बढाउने प्रतिबद्धतासमेत उनीहरूले गरेका छन्।
अन्तर्क्रियामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले कामाद जर्नलले नेपालको प्रशासनिक र प्राज्ञिक वृत्तमा छुट्टै नाम र पहिचान बनाएको बताए।
‘यसले नेपाली समाजमा अनुसन्धानात्मक र स्तरीय विचार तथा लेखरचनाहरू सम्प्रेषण गरी प्रजातान्त्रिक, खुला शासकीय प्रबन्ध र जनउत्तरदायी शासन प्रणालीलाई प्रवर्द्धन गर्न सहयोग पुर्याएको छ,’ उनले भने।
कामाद जर्नलका हालका प्रधान सम्पादक प्रदीपप्रसाद उपाध्याय र पूर्वसम्पादक जीवराज कोइरालाले कामादको विगतदेखि वर्तमानसम्मको विकास क्रमलाई संयुक्त रूपमा प्रस्तुत गरेका थिए।
कामादका पूर्वसम्पादक हीरामणि घिमिरेले कामाद पत्रिकाको गुणस्तर र पहुँच वृद्धि तथा बजार व्यवस्थापन लगायतका विषय र भावी कार्यदिशाबारेमा प्रस्तुति दिएका थिए।
लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले कामाद पत्रिका प्रशासन र व्यवस्थापन विषयमा अध्ययन गर्न चाहने सबैका लागि ज्ञानवर्द्धक रहेको बताए।
‘यसलाई समयको परिवर्तनसँगै थप परिष्कार र परिमार्जन गर्दै अघि बढ्न आवश्यक छ,’ उनले भने।
लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले कामाद पत्रिकामा पुराना लेखकहरूका साथसाथै नयाँ पुस्ताका लेखक र अनुसन्धानकर्मीहरूलाई प्रोत्साहित गर्नुपर्ने बताए।
‘नवीन विषयका शोधमूलक लेखरचनालाई पनि समेट्दै अघि बढ्न उपयोगी हुन्छ,’ उनले भने।
पूर्वमुख्य सचिव विमल कोइरालाले २५ वर्ष यात्रा पार गरिसकेको कामादले नेपाली पत्रिका जगतमा एउटा प्रतिष्ठा आर्जन गरिसकेको बताए। आगामी दिनमा अनुसन्धानमूलक वा फिचर आर्टिकल वा दुवैको मिश्रित स्वरूप के कस्तो रूपमा लैजाने हो छलफल गरेर अघि बढ्न उनले सुझाव दिए।
पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले कामाद जर्नल बौद्धिक समुदायमा एउटा प्रतिष्ठित पत्रिका रहेको बताए।