सुनजस्तो देखिने धातुसहित चार जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बालाजुबाट सुनजस्तो देखिने धातुसहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नम्बर ०१ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ७ का ३१ वर्षीय विशुराम थपलिया, दोलखाको बिगुल गाउँपालिका-५ घर भइ भक्तपुरको नयाँ ठिमी बस्ने ३० वर्षीय भीमसेन विक, लाजिम्पाट बस्ने ३२ वर्षीय निरज महर्जन र सप्तरीको सितापुर गाउँपालिका-८ इटहरूवा घर भइ जोरपाटी बस्ने ३४ वर्षीय दिलिपकुमार चौधरी छन्।
उनीहरूलाई शुक्रबार बालाजुबाट पक्राउ गरिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार बालाजु एरियामा सुनजस्तो देखिने धातु देखाएर ठगी भइरहेको भन्ने सूचनाका आधारमा कार्यालयबाट टोली खटिएको थियो।
टोलीले उनीहरूको साथबाट युपेङ्ग गोल्ड १ किलो फाइन गोल्ड ९९९.९ वाइ १८५२७० लेखिएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो।
उनीहरूमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरी वृत्त बालाजु पठाइएको एसपी रेग्मीले जानकारी दिए।