हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षाका लागि २ हजार ९६६ प्रहरी परिचालन भएको छ।
तीजको दिन आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ। दर्शनार्थीको सहजताका लागि चारवटै प्रवेशद्वार खुला गरिएको छ।
सुरक्षा व्यवस्था चुस्त बनाउन मन्दिर परिसरमा कमान्ड पोष्टको स्थापना गरिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठले कमान्ड सम्हाल्ने गरी आइतबार कमान्ड पोस्ट स्थापना गरिएको थियो।
कमान्ड पोष्ट तीज नसिकएसम्म पशुपति क्षेत्रमै रहनेछ।
पशुपति क्षेत्रम प्रहरीको पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सिसीटिभी, वाक थ्रु गेट, ड्रोनबाट निगरानी गरिएको छ।
साथै ट्राफिक व्यवस्थापन र विपद व्यवस्थापन पनि चुस्त बनाइएको छ।
ती सबै कामका लागि दुई सिफ्टमा प्रहरी खटानेछ। एक सिफ्टमा १ हजार ४८३ प्रहरी खटिने जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
यसरी दुई सिफ्टमा खटिनेगरी पशुपतिनाथमा सुरक्षा व्यवस्था चुस्त बनाउन २ हजार ९६६ प्रहरी परिचालन गरिएको छ।