बैतडीमा एक शिक्षक २८ दिनदेखि बेपत्ता छन्।
डिलासैनी गाउँपालिका-२ गोगनीका ५२ वर्षीय शिक्षक जयबहादुर गडाल २८ दिनदेखि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।
उनी भदौ ५ गते बेपत्ता भएका थिए। उनी सोही गाउँपालिकाको लटिनाथ आधारभूत विद्यालयका शिक्षक हुन्।
'भदौ ५ गते स्कुलबाट निस्किएका गडाल घर नपुगेपछि ६ गते साँझ परिवारले निवेदन दिएका हुन्,' डिएसपी गिरीले भने।
परिवारले निवेदन दिएपछि प्रहरीले खोजी गरेको हो। खोजी गर्नेक्रममा प्रहरीले गन्नागाड (खोला) झर्नेबाटोबाट छाता, टोपी, मोबाइल, चप्पल भेटाएको छ।
उनी त्यही भीरबाट खसेका हुन् कि भन्ने अनुमान गरिएको डिएसपी गिरीले जानकारी दिए।
'तर अहिलेसम्म भेटिएको छैन। त्यसैले केही भन्न सकिँदैन,' उनले भने, 'प्रहरीले खोजिरहेको छ।'