ललितपुर महानगरपालिकाले सबै नगर प्रहरीलाई हरियो रंगको छडी दिएको छ।
असोज ३ गते बुधबार संविधान दिवसको अवसर पारेर सबै नगर प्रहरीलाई हरियो रंगको छडी दिएको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए।
उनका अनुसार नगर प्रहरीले छडी बोक्दा गलत काम गर्न मान्छे डराउने र नगर प्रहरी समेत सुरक्षित हुन्छन्।
‘नगर प्रहरीहरू दिनरात ड्युटी गर्न बस्नुपर्छ,’ उनले भने, ‘कतिपय समय नराम्रो मान्छेले ड्युटीका क्रममा आक्रमण गरे पनि चुप लागेर बस्नुपर्छ। हामीसँग कुनै पनि हतियार हुँदैनथ्यो। त्यही भएर अस्ति छडी दिइएको हो।’
यसो त उनी उक्त छडी नगरबासी पिट्न नदिइएको बताउँछन्।
‘कतिपयलाई नगर प्रहरीले छडी बोक्यो अब पिट्छ भन्ने लाग्ला,' उनले भने, 'नगरप्रहरीको आत्मसुरक्षाको सँगसँगै नगरबासीको सुरक्षा गर्न प्रयोग गर्न छडी दिइएको हो।’
हाछेथूका अनुसार नगर प्रहरीको विभिन्न जिम्मेवारी छ। नगरबासीको सुरक्षा, जात्रापर्व मनाउँदा सुरक्षा दिने, भगवानको सुरक्षा, बजार व्यवस्थापन, फुटपाथ व्यवस्थापन, अतिक्रमित जग्गाका संरचना हटाउने लगायत नगर प्रहरीको जिम्मेवारी हो।
महानगरभित्र नगर प्रहरीको जिम्मेवारी धेरै भएता पनि काम गर्न फिल्डमा हात बाँधेर गएको जस्तो अनुभूति भएको उनी बताउँछन्।
‘महानगरले कुनै काम गर्न जिम्मेवारी दिएर पठाउँछ,’ उनले भने, ‘तर फिल्डमा आक्रमण हुँदा केही पनि गर्न नसकेर भाग्न पर्ने अवस्था हुन्थ्यो। तर अब काम गर्न सजिलो हुन्छ।’
कसैले पनि आफ्नो ज्यान जोखिममा राखेर काम गर्न नसक्ने उनी बताउँछन्।
हाछेथूले भक्तपुरको ठिमीमा नगरप्रहरीमाथि भएको एक आक्रमणको उदाहरण दिँदै भने, ‘नगर प्रहरीले ठेला उठाउँदै गर्दा उनीसँग कुनै हतियार नभएको कारण आफ्नो ज्यानै जोखिममा मोल्नुपरेको थियो। यदि ऊसँग छडी थियो भने त आफ्नो ज्यान त बचाउन सक्थ्यो नि!’
भक्तपुरमा उक्त घटना घटेपछि ललितपुरका मेयर चिरीबाबु महर्जनलाई उनले नगर प्रहरीसँग कुनै पनि किसिमको हतियार नहुँदा कठिनाइ भएको बताए।
'फिल्डमा जान छडीको चाहिन्छ भनेर भने,' उनले मेयर चिरीबाबुको भनाइ उदृत गर्दै भने, 'त्यसपछि त मेयरले सहजै हुन्छ बोक भनेर भन्नुभयो।'
पहिले नगर प्रहरीले मोनोग्राम भएको कालो रंगको छडी प्रयोग गर्थे। हाछेथूका अनुसार पछि लामो लठ्ठी प्रयोग गरिन्थ्यो जुन तीन वर्ष अगाडि हटाइएको हो।
'नगर प्रहरी मात्र राम्रो भएर हुँदैन,' उनले भने, 'तीन वर्षअगाडि हटाइएको लठ्ठी अहिले बोक्न पर्ने स्थिति आयो। किनकी अहिले केही मानिस आक्रमक हुँदै गए।'
यस्तै, केही समय अगाडि लगनखेलमा दुईपक्षबीच झडप हुँदा कुनै साधन नभएका कारण कन्ट्रोल गर्न गाह्रो भएको उनी बताउँछन्।
'लगनखेलमा केही समय अगाडि दुई पक्षबीच झडप भएको थियो,' उनले भने, 'त्यहाँ हामीभन्दा बलियो मान्छे भएका कारण हातले छुट्टाउनै गाह्रो भयो। तर यदि त्यसबेला छडी भएको भए त उनीहरू हामीसँग डराउँथे होलान् नि!'
अहिले नगर प्रहरीको जिम्मेवारी बढेसँगै हातले मात्रै समस्या सम्बोधन गर्न सक्ने स्थिति नरहेको उनले बताए।
'यो छडी कसैलाई पिट्नभन्दा पनि सुरक्षाको लागि प्रयोग गरिएको हो,' उनले भने, 'त्यो सँगसँगै यसलाई नगर प्रहरीको एक ड्रेस कोडको रूपमा समेत बुझ्न अनुरोध गर्छु।'

