ललितपुर महानगरपालिकाले जावलाखेलमा स्मार्ट सार्वजनिक शौचालय बनाउने भएको छ।
शुक्रबार एरोसान सस्टेनेबल स्यानिटेसन प्रालिसँग सार्वजनिक शौचालय निर्माणका लागि सम्झौता भएको हो। ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र एरोसानका अध्यक्ष प्रत्युषचन्द्र अमात्यले हस्ताक्षर गरेका हुन्।
यसअघि पनि एरोसानले मंगलबजार र पाटनढोकामा स्मार्ट सार्वजनिक शौचालय निर्माण गरिसकेको छ।
यस्तै, यसअघि एरोसानले काठमाडौंमा ६ वटा, ललितपुरमा २ वटा शौचालय निर्माण गरेको छ। ललितपुर महानगरले प्रत्येक वडामा स्नान कक्षसहित शौचालय निर्माण गर्ने योजना बनाएको जनाएको छ। महानगरको २९ वटा वडामध्ये हाल ८ वटा वडामा शौचालय निर्माणका लागि टेण्डर भइसकेको जनाइएको छ। ती सबै शौचालय एकै खालको हुने बताइएको छ।
‘टाढैबाट शौचालय हो भनेर चिनिन सजिलो होस् भनेर एउटै डिजाइन दिएका छौं,' नगर प्रमुख महर्जनले भने, 'यी शौचालय अपाङ्गतामैत्री हुनेछन्।’