दाङको तुलसीपुरमा एउटा मेडिकल पोलिक्लिनिकबाट अस्पताल रिफर गराइएको एक बिरामीको बाटोमै मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका-५ मार्केट टोलकी ४५ वर्षीया सीता जैसीको अस्पताल लैजाँदै गर्दा शनिबार मृत्यु भएको हो।
शनिबार बिहान ढाड दुखेपछि उनलाई तुलसीपुर-८ दोघरेस्थित योगेश मेडिकल पोलिक्लिनिकमा लगिएको थियो।
शुक्रबार राति पनि असहज भएपछि उनलाई राप्ती प्रादेशिक अस्पताल लगिएको थियो। तर स्वास्थ्यमा समस्या नरहेको भन्दै चिकित्सकले सामान्य जाँचपछि घर फर्काएको थियो।
शनिबार बिहान फेरि बिसञ्चो भएपछि पोलिक्लिनिक लगिएको थियो। त्यहाँ उनलाई स्लाइन पानी चढाइएको थियो।
पोलिक्लिनिकले केहीबेर उपचार गरे पनि बिरामीको अवस्था नाजुक भएपछि प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो। अस्पताल पुर्याउँदा सीतालाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
अचेत अवस्थामा सीतालाई राप्ती प्रोदशिक अस्पताल ल्याई पुर्याउँदा ड्युटीमा अस्पतालका मेडिकल अधिकृत डा. जनक गुरूङ थिए।
डा. गुरूङका अनुसार मध्याह्न १२ बजेर १९ मिनेट जाँदा सीतालाई भर्ना गरिएको थियो।
आउनासाथ डा. गुरूङले आफैं सीताको स्वास्थ्य चेकजाँच गरेको बताए।
‘हामीकहाँ आउनुपूर्व नै उहाँको मृत्यु भइसकेको थियो,’ डा. गुरूङले भने, ‘उहाँको मृत्युको कारण हृदयघातले गर्दा भएको थियो भन्न सकिन्छ।’
यता सीताको मृत्युपछि आक्रोशित आफन्तले दोघरे पुगेर पोलिक्लिनिकमा तोडफोड र आगजनी गर्ने चेतावनी दिएका थिए। उक्त खबरपछि प्रहरी परिचालन गरी डेढ घण्टापछि शान्त बनाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरबाट डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए।
सीताको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। आफन्तले उपचारमा लापरबाही गर्ने मेडिकल संचालकलाई कानुनी कारबाही नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन्।