जागिरको प्रलोभनमा पारेर भारतमा बेचिएका दुई नेपाली युवतीलाई उद्धार भएको छ।
तीन महिनाअघि कामको शिलशिलामा भारतमा पुर्याइएका सुर्खेतका १८ र २३ वर्षीया युवतीलाई शनिबार नेपाल ल्याइएको केआइएन इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईले बताए।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको पहलमा केआइएनले उद्धार गरेको हो।
उनीहरूलाई गाउँकै दिदी पर्ने एक महिलाले राम्रो काम लगाइदिन्छु भन्दै दिल्ली पुर्याइएकी थिइन्। उनीहरूलाई त्यहाँ पुर्याएर ती महिला भने फर्किएकी थिइन्।
'तीन दिन घरको काममा लगाएपछि जबरजस्ती यौन व्यवसायमा संलग्न गराइएको उनीहरूले बताएका छन्,' संयोजक इन्द्रराजले भने।
उनीहरू यहाँबाट भागे प्रहरीले नियन्त्रणमा लिने र थुनामा राख्ने धम्की दिएपछि बाध्यतामा परेको दु:खेसो पोखेका छन्।
केआइएन इन्डियाले गोप्य सुचना प्राप्त भएसँगै नेपाली दूतावास, महिला मन्त्रालयको पहलमा उनीहरूको उद्धार भएको भट्टराईले बताए।