३४ वर्षअघि भोजपुरमा एक पुरूषको हत्या गरी भागेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतबार कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
भोजपुर साविक दोभाने गाविस-८ घर भएका चक्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको कार्यालयका डिएसपी सुदीपराज पाठकले जानकारी दिए। उनी अहिले ६७ वर्षका भए।
उनले २०४६ कात्तिक १७ गते २७ वर्षीय बद्रीकुमार राईको हत्या गरेको आरोप छ। बद्रीकुमार वडा नम्बर ७ का तत्कालीन वडाध्यक्ष रामनाथ राईको घरमा सुतिरहेका थिए।
बद्रीकुमार वडाध्यक्षको घरमा सुतिरहेको थाहा पाएपछि चक्रबहादुरसहित चार जनाको समूह उक्त घरमा पसेका थिए।
घरेलु हतियारले बद्रीकुमारका विभिन्न अंगमा प्रहार गरी गम्भीर घाइते बनाएको डिएसपी पाठकले बताए। गम्भीर घाइते बनाएपछि उनीहरूले बाँया हातसमेत छिनाएर लगेका थिए। बद्रीकुमारलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो।
त्यसयता चक्रबहादुरसहितको समूह फरार थियो। यस मुद्दामा मृतकका परिवारले चक्रबहादुरसहित चार जनाविरूद्ध जाहेरी दिएका थिए। अनुसन्धान हुँदा २०६० जेठ २७ गते जिल्ला अदालतले उनीहरूलाई सर्वस्वसहित जन्म कैद सजाय ठहर गरेको थियो।
उनीहरू फरार नै रहे। घटना भएपछि चक्रबहादुर लामो समय भारतमा लुकेर बसेका थिए। उनको परिवार पनि भोजपुरबाट बसाइँ सरेर सुनसरीस्थित इटहरी उपमहानगरपालिका-२० तरहरामा बस्न थालेका थिए। त्यसैबीच चक्रबहादुर पनि यो घटना सेलाएको हुनसक्ने र परिवार बस्ने ठाउँ पनि स्थानान्तरण भएको हुँदा केही वर्षअघि नेपाल फर्किएका थिए।
‘परिवारसहित उनीहरू इटहरी बस्न थालेका रहेछन्। घटना भएको पनि लामो समय भयो, अब सेलायो भनेर भारतबाट फर्किएका रहेछन्,’ डिएसपी पाठकले भने।
घर फर्किएर उनले पनि सुँगुर पालनको व्यवसाय थालेका थिए। त्यसैबीच प्रहरीले सुराकीको आधारमा उनलाई शुक्रबार पक्राउ गरेको हो। यसबारे प्रहरीले आइतबारमात्रै पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
‘लामो समय भारतमा लुकेर बसेका थिए। केही समयदेखि नेपाल आएर सुँगुर पालन व्यवसाय सञ्चालन गर्न थालेको भन्ने खबर थियो। सुराकीको आधारमा टोलीले पक्राउ गरी ल्यायो,’ डिएसपी पाठकले भने।
प्रहरीले चक्रबहादुरमाथि प्रारम्भिक सोधपुछसमेत गरेको छ। त्यसक्रममा आफूहरूले हत्या गरेको समेत स्वीकार गरिसकेको डिएसपी पाठकले बताए। अहिले प्रहरीले यही घटनामा संलग्न व्यक्तिहरूको पनि खोजी गरिरहेको छ।
प्रहरीले बद्रीकुमारको शव फेला पारे पनि हत्यापछि काटेर लगेको हात भने फेला परेको थिएन। चक्रबहादुरले हात काटेर अर्कै व्यक्तिले फ्याँक्न लगेको बताएका छन्। तर कहाँ फ्याँकेको आफूलाई थाहा नभएको पनि उनले बताए।
‘हामीले विस्तृत रूपमा सोधपुछ गर्न पाइसकेका छैनौं। वृद्ध भइसकेको हुनाले पनि हामीले धेरै दबाब दिएका छैनौं। घटनाबारे स्वीकारिसकेका छन्,’ डिएसपी पाठकले भने, ‘मृतक व्यक्तिको अलि दबदबा दिएको भन्ने बताएका छन्। गाउँमा जान्ने सुन्ने, दबाबमा राख्ने, दमन गर्ने, कसैको कुरा नसुन्ने नटेर्ने गरेको हुँदा हत्या गरेको बताएका छन्।’
वडाध्यक्षकै घरमा बसेका बद्रीकुमारको हत्यामा राजनीतिक कारण पनि हुनसक्ने प्रहरीको बुझाइ छ। प्रहरीले यसमा सजाय कार्यान्वयनको लागि आइतबार जिल्ला अदालत भोजपुरमा पेश गर्ने तयारी गरेको छ।