धनुषामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।
बटेश्वर गाउँपालिका-१ स्थित धुमासन टोलमा बिगही खोलामा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय धिरजकुमार महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक बालक शनिबार दिउँसो साथीहरूसँगै बिगही खोलामा खेल्न गएका थिए।
परिवारका अनुसार नुहाउने जानेक्रममा चिप्लेर बालक गहिरो खाल्डोमा खसेका थिए। धिरजकुमारसँगै अन्य दुई जना बालक पनि खोलामा गएका थिए। धिरजकुमार डुबेपछि अन्य दुई साथीले स्थानीयलाई बोलाएका थिए।
खाल्डोबाट उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको हो।
उक्त खोला खन्न तीन वर्षअघि बटेश्वर गाउँपालिकाले ठेक्का लगाएको थियो।
घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।