चितवन मेडिकल कलेजले बिरामीका लागि औषधी परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ। केन्द्रमा उपचारका लागि आएका बिरामीलाई औषधी तथा आवश्यक उपकरणको प्रयोग गर्न सिकाइन्छ।
औषधी तथा उपकरणको सही उपयोग गर्न नजान्दा नकारात्मक असर पर्ने भएकाले बिरामीलाई प्रयोगको विधिमा निपूर्ण बनाएर पठाउन थालिएको अस्पतालका फार्मेसी प्रमुख रमेश पौडेलले जानकारी दिए।
‘सही प्रयोग गर्न नजान्दा औषधीले काम नगर्न सक्छ। डोज बढी वा कम भएको अवस्थामा बिरामीको ज्यानै जानसक्छ,’ पौडेलले भने, ‘हामीले औषधी बिक्री गर्दा राम्रो परामर्श दिने र उपकरणको प्रयोगमा निपूर्ण बनाएरमात्रै बिरामीलाई घर पठाउने गरेका छौं।’
पौडेलले औषधीको उचित व्यवस्थापनको विषयमा अष्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजीबाट विद्यावारिधि गरेका छन्।
फोक्सोको समस्यामा प्रयोग गरिने रोटाहेलर नामको उपकरण प्रयोग गर्नेहरू माथि सन् २०२२ मा गरिएको एक अध्ययनले अधिकांशले राम्ररी प्रयोग गर्न नजान्ने गरेको पाइएको थियो।
पौडेलसहित चितवन मेडिकल कलेजका डाक्टर शितल अधिकारी, डा.शक्ति श्रेष्ठ, डा.दिपेश मास्के, डा.डाइनिल इक्को, प्रवेश लामिछाने र शरद कार्कीले संयुक्त रूपमा गरेको अध्ययनले दुई तिहाइदेखि सत प्रतिशत बिरामीले रोटाहेलरको प्रयोगमा कम्तीमा एक चरण गलत गर्ने निष्कर्ष निकालेको थियो।
‘यसको प्रयोगमा दस वटा चरण हुन्छन्। त्यसमध्ये ३ वटा चरण त पूरा गर्नैपर्छ। त्यो नगरे फोक्सोमा औषधी कम पुग्छ वा पुग्दैन,’ पौडेलले भने, ‘हाम्रो अध्ययनमा ९ देखि सत प्रतिशत बिरामीले मुख्य काम नै बिगार्ने गरेको देखियो।’
६० वर्षभन्दा माथिका, ५ कक्षाभन्दा कम पढेका, कृषि र घरको काममात्रै गर्ने, ग्रामीण क्षेत्रमा बस्ने, रोगले बढी चापेका बिरामीमा औषधी तथा उपकरण प्रयोगमा समस्या देखिएको पौडेलले बताए।
‘फर्मासिस्टले राम्ररी नसिकाई पठायो भने औषधि/उपकरणको प्रयोग राम्रो हुँदो रहेनछ भन्ने धेरै अध्ययनले देखाएका छन्। एक पटकमात्रै भन्दा बिरामीले नबुझ्न सक्छ। कम्तीमा दुई पटक सिकाउनुपर्छ भन्ने छ,’ उनले भने।
अडिओ, भिडिओ र कर्मचारीमार्फत् बिरामीलाई औषधीसम्बन्धी परामर्श दिन थालिएको हो।
औषधी परामर्श केन्द्र सँगै फर्मासिस्ट र नर्सहरूलाई नियमित फार्मेसी शिक्षा पनि सञ्चालन गरिएको पौडेलले बताए। पढाइ सकेर जागिरमा आएका नयाँ कर्मचारीलाई आवश्यकता र इच्छाअनुसारको सिकाइका लागि नियमित फार्मेसी शिक्षा प्रदान गर्ने गरिएको उनले बताए।
फार्मेसीमा औषधी व्यवस्था विभागमा दर्ता नभएका खाद्य तत्व(फुड सप्लिमेन्ट)को बिक्री बन्द गरिएको पनि पौडेलले बताए।
‘डाक्टरले औषधी व्यवस्था विभागमा दर्ता भएको नदिई खाद्य विभागमा दर्ता भएको वा दर्ता नै नभएको फुड सप्लिमेन्ट सिफारिस गरेको भनेर धेरै आलोचना हुँदै आएको छ। यसो गर्नु राम्रो होइन। हामीले विभागमा दर्ता भएका फुड सप्लिमेन्टमात्रै राख्न थालेका छौं,’ उनले भने।
डाक्टरहरूले बिरामीलाई कमिसनको लोभमा महंगो र औषधी व्यवस्था विभागमा दर्ता नभएको खाद्य तत्व सिफारिस गरेपछि विभागले समेत सचेत गराएको थियो।
‘नट फर मेडिसिनल युज’ लेखिएका फुड सप्लिमेन्ट फार्मेसीहरूमा छ्यापछ्याप्ती भेटिन्छन्।
चितवन मेडिकल कलेजले डाक्टरले अनिवार्य रूपमा अंग्रेजी ठूलो अक्षर(क्यापिटल लेटर) मा प्रेस्किप्सन लेख्नुपर्ने, बिरामीलाई औषधी खाने, तान्ने, प्रयोग गर्ने गरी विधि निर्माण गरेको फार्मेसी प्रमुख पौडेलले बताए।
यो अस्पताल औषधी व्यवस्था विभागअन्तर्गतको रिजनल फर्माको भिजिलेन्स सेन्टर पनि हो। यसले बजारमा आएको औषधीको नकारात्मक असरबारे विभागलाई रिपार्ट गर्ने काम गर्छ।
उक्त रिपोर्टलाई विभागले अन्तर्राष्ट्रिय तहमा रिपोर्टिङ गर्छ। नेपालमा १५ वटा अस्पतालमा रिजनल फर्माको भिजिलेन्स सेन्टर छन्। चितवनमा चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा छन्।
यी सबै कामहरू अष्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी र वेस्टमेट हस्पिटलसँगको सहकार्यमा गर्न लागिएको कलेजका फार्मेसी प्रमुख पौडेलले बताए। यी कामका लागि योजना बनाउने र मार्गदर्शन गर्नेगरी डा.शितल अधिकारी अध्यक्ष रहेको ड्रग एन्ड थेरापेटिक कमिटी बनाइएको छ।
उक्त कमिटीका सचिव रहेका क्लिनिकल फर्मासिस्ट डा.सुधीर थापाले औषधी बिक्री गर्नेमात्रै नभएर सही उपयोगका लागि काम गर्ने उद्देश्य रहेको बताए।