मानसिक समस्याका लक्षणहरू धेरै हुन्छन्। कोही मान्छेको खानपिनमा समस्या आइरहेको हुन्छ। कसैले धेरै खाइरहेको वा कसैले थोरै खाइरहेको हुन्छ। निद्रामा पनि समस्या आइरहेको हुन्छ। पहिलेभन्दा धेरै रिस उठ्ने, एक्लै बस्न मन लाग्ने भइरहेको छ भने त्यो मानसिक समस्याको लक्षण हो।
यस्तो बेला कहिलेकाहीँ आफैंलाई हानि गर्ने सोच आउँछ। व्यक्तिअनुसार फरक फरक लक्षण समेत देखिन्छ। जीवनशैलीमा बदलाव आएको आधारमा चिकित्सककहाँ जानुपर्छ।
मानसिक रोग धेरै खालका हुन्छन्। तर अहिले धेरैलाई एन्जाइटी र डिप्रेसन देखिएको छ। त्यो पनि टिनएजर (किशोरावस्थाका) लाई धेरै देखिएको छ। यसको अनुसन्धान भने भएको छैन। युवाहरू धेरै सचेत भएर उपचारका लागि आएकाले पनि यस्तो हुन सक्छ।
एन्जाइटी भएको बेलामा रिंगटा लाग्ने, मुटु ढुकढुक हुने, बेचैनी हुने, निद्रा नलाग्ने, टाउको दुख्ने, खानपिनमा समस्या आउने अनि चिन्ता लागिरहने हुन्छ।
डिप्रेसन हुदा दुःखी भइराख्ने, एक्लै बस्न मन लाग्ने, टाउको दुख्ने, निद्रा नलाग्ने हुन्छ। मेरो जीवनको केही महत्व छैन भन्ने खयाल आउँछ। साथीसंगीसँग भेट्न मन नलाग्ने, पहिला रूचि भएको विषयमा रूचि हराउने हुन्छ।
मानसिक समस्या भएका व्यक्तिलाई काउन्सिलिङले ठूलो अर्थ राख्छ। काउन्सिलिङ गर्दा बिरामीले आफ्नो कुरा भन्ने सुरक्षित ठाउँ पाउँछ। उसले आफ्ना समस्या सबै भन्न सक्छ। यसले गर्दा बिरामीलाई निको हुन सजिलो हुन्छ।
कुनै पनि खराब अवस्थाको कसरी सामना गर्ने भनेर हामीले बिरामीलाई सुझाव दिन्छौं। काउन्सिलिङले गर्दा कोही पनि व्यक्तिले सही निर्णय लिन सक्छ।
पारिवारिक समस्या, आर्थिक समस्या, व्यक्तिगत कारणले समेत मानसिक समस्या आउन सक्छ। सानो कुरामा तनाव लिने व्यक्तिलाई पनि मानसिक समस्या हुन्छ। घर, समाज, अफिसमा आफूलाई हेपिरहने व्यक्ति छ भने समेत मानसिक समस्या हुन सक्छ।
सबभन्दा ठूलो र महत्वपूर्ण कुरा भनेको आफूसँग भएको समस्या समाधान गर्न मद्दत माग्न असजिलो मान्नु हुँदैन। आफ्नो आफन्त, साथीभाइसँग भन्न असहज लागेमा चिकित्सककहाँ गएर भन्नुपर्छ। अर्थात् मानसिक रोगबारे खुलेर बोल्नुपर्छ।
मानसिक रोगलाई हामी आफैंले ठूलो रूपमा लिन्छौं। कसैलाई डाइबेटिज भएको छ भने सबैका अगाडि मलाई यस्तो भयो भनिन्छ। तर कसैले मलाई डिप्रेसन भएको छ, के गर्दा ठीक हुन्छ भनेर भन्न सक्दैन। जसरी शारीरिक स्वास्थ्य जरूरी छ, त्यसैगरी मानसिक स्वास्थ्यको पनि ख्याल राख्न जरूरी छ।
मानसिक समस्याबाट जोगिन व्यायामको महत्वपूर्ण भूमिका छ। जस्तो, हिँड्दा स्ट्रेस हर्मोन बाहिर आउँछ भने खुसी हुने हर्मोन सक्रिय हुन्छ। परिवार,आफन्त अनि साथीभाइसँग भेटघाट गर्नु पनि अर्को उपाय हो।
खानपिन राम्रो तरिकाले गर्यो भने खुसी हुन सकिन्छ। बिहान १५ मिनेट र राती सुत्नुभन्दा पहिला १५ मिनेट ध्यान गर्न सकेमा मानसिक रूपमा स्वस्थ रहन मद्दत पुग्छ।
(मनोविद स्नेहा अग्रवाल चौधरी नर्भिक अस्पतालमा कार्यरत छिन्।)