सोमबारबाट काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण सुरू गरिने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहान ९ बजे सिंहदबारस्थित आफ्नै कार्यालय परिसरको धारा खोलेर पुनःवितरण सुभारम्भ गर्ने उनको सचिवालयले जानकारी दिएको छ।
आइतबार अनामनगर र मीनभवन क्षेत्रबाट वितरण सुरू गरिनेछ। त्यसपछि क्रमशः खुमलटार, बोडे, बालाजु क्षेत्रबाट वितरण गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए।
उनका अनुसार शनिबार नै मेलम्चीको पानी काठमाडौं आइपुगिसकेको थियो।
आइतबारबाटै अनामनगरको ट्यांकी भर्न सुरू गरिएको थियो।
शनिबार मेलम्चीबाट दैनिक करिब साढे आठ करोड लिटर हाराहारी मात्रै पानी आएको उनले बताए।
सोमबारबाट पानीको मात्रा बढाउँदै दैनिक १७ करोड लिटर पानी पथान्तरण गरिने कार्यकारी निर्देशक अन्सारीले बताए।
२०७८ असार १, साउन १६ र १७ गते उत्तरी हेलम्बुको भ्रेमाथाङको बाढीले हेडवर्क्समा क्षति पुर्याएपछि काठमाडौंमा अस्थायी तरिकाले पानी ल्याइँदै गरेको छ।
अघिल्ला दुई हिउँद पनि हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित अम्बाथानमा रहेको बाँध क्षेत्रको एक नम्बर र १९ नम्बर गेट सफा गरेर अस्थायी तरिकाले पानी ल्याइएको थियो।
गत साउन २८ र २९ गते आएको बाढीले पुनः बाँध क्षेत्रमा क्षति पुर्याएकाले पानी ल्याउन ढिलाइ भएको थियो।
गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र सुरूङ र बाँध क्षेत्र निर्माणको ठेक्का पाएको सिनो हाइड्रोबीच दुई सिफ्टमा काम गरेर भए पनि २८ दिनभित्र पानी पथान्तरण गर्ने सहमति भएको थियो।
तदनुरूप २७ दिनभित्रै मेलम्चीको पानी काठमाडौं आइपुगेको मेलम्ची खानेपानी विकास समितिले बताएको छ।
अस्थायी तरिकाले ल्याएको पानीको पनि पटकपटक उद्घाटन हुँदै आएको छ।
यसअघि २०७७ फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा फ्लसिङ टनेलको हाइड्रोलिक मेकानिकल गेटको बटम थिचेर उद्घाटन गरेका थिए। आयोजना सुरू भएको २२ वर्षपछि मेलम्चीको पानी पहिलोपटक काठमाडौं आइपुगेको थियो।
त्यसपछि २०७७ चैत २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको भृकुटीमण्डपमा बनाएको धारा खोलेर मेलम्चीको पानी वितरण सुरू गरेकी थिइन्।
त्यसपछि २०७९ मंसिर २३ गते तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले महाँकाल वितरण केन्द्रबाट पुनः वितरण सुरू गरेका थिए।
त्यसअघिका खानेपानी मन्त्री बिना मगर, मणि थापा लगायतले पनि अम्बाथान नै पुगेर पानी पथान्तरणको उद्घाटन गरेका थिए।
सुरूङभित्रका उपकरणको जाँच नै नगरी पानी पथान्तरणा सुरू गर्दा २०७७ असार ३० गते ‘अडिट टनेल’ भत्किएर २७ वर्षीय इन्जिनीयर सतीश गोइत र ५६ वर्षका चालक राधाकृष्ण थापाले ज्यान गुमाए। इन्जिनीयर शेखर खनाल र पेमादोर्जे तामाङ घाइते भएका थिए।
मेलम्चीको पानी दिगो रूपमा पानी ल्याउन अहिले पुरिएकै स्थानमा पुनः बाँध क्षेत्र बनाउन नहुने दातृ निकाय एशियाली विकास बैंकले जानकारी दिएको छ।
उसले अम्बाथान (अहिले हेडवर्क्स भइरहेको स्थान) बाट झन्डै एक किलोमिटर माथि सर्कथलीमा बाँध सार्न सुझाव दिएको छ।
वारिपारि दुवैतिर पहिराको जोखिम रहेकाले अम्बाथानमा बाँध क्षेत्र कायम गर्न नहुने उसको सुझाव छ।
एसियाली विकास बैंकल गत सेप्टेम्बरमा बुझाएको विस्तृत प्रतिवेदन अध्ययन भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।
अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्म २६.९ किलोमिटर लामो सुरूङ निर्माण गरिएको छ। त्यसका लागि झन्डै ३२ अर्ब रूपैयाँ खर्च भएको छ। त्यसमा एसियाली विकास बैंकको २० अर्बभन्दा बढी लागत रहेको छ भने नेपाल सरकारको १२ अर्ब रूपैयाँ खर्च भइसकेको छ।
यता काठमाडौं उपत्यकामा पानी वितरणका लागि पाइप सञ्जाल विस्तार गर्नका लागि ३२ अर्बभन्दा बढी रूपैयाँ खर्च भइसकेको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनलायले यो काम गरिरहेको छ।
सर्कथली क्षेत्रमा बाँध सार्दा ४ अर्बभन्दा बढी लागत थपिने आयोजनाको आकलन छ।
अम्बाथान क्षेत्रमा हेडवर्क्स बनाउन मात्रै १ अर्बभन्दा बढी खर्च भएको पन्तले बताए।
‘हेडवर्क्ससम्म पुग्ने पहुँच मार्ग, सर्कथलीदेखि अम्बाथानसम्म सुरूङ, हेडवर्क्सको सर्भे, डिजाइन, निर्माण, सुपरिवेक्षण आदिका हिसाबले बाँध सार्न ३ देखि ४ अर्ब लागत थपिने अनुमान गर्न सकिन्छ,’ उनले भने।
२० करोडभन्दा बढी लागत खर्चिएर दुई हिउँद काठमाडौंमा अस्थायी तवरले पानी ल्याइएको थियो। यस वर्ष गेग्रान नछिरोस् भनेर १ नम्बर र ९ नम्बर गेटमा हाइड्रोलिक उपकरणसमेत राखिएको थियो।
साउन २८ र २९ गते आएको बाढीले ती संरचना पुरेको थियो।
बाँध क्षेत्र सार्दा थप तीन वर्ष अस्थायी तवरले नै पानी काठमाडौं पथान्तरण गर्नुपर्ने पन्तले बताए।
‘पर्याप्त भौगर्भिक, वातावरणीय अध्ययन भएर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुन नै ६–७ महिना लाग्छ। त्यसपछि ठेक्का लाग्न ६ देखि ९ महिनासम्म लाग्छ,’ उनले भने, ‘यसअघि हेडवर्क्स तयार गर्न लागेको समयलाई आधार मान्दा पनि कम्तीमा तीन वर्ष लाग्ने देखिन्छ,’ पन्तले भने।
पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउने, दोस्रो चरणमा याङ्ग्री र लार्केबाट १७–१७ करोड लिटर पानी थपेर दैनिक ५१ करोड लिटर पानी पुर्याउने आयोजनाको लक्ष्य थियो।
त्यसका लागि लार्केसम्म पुग्ने पहुँच मार्गका लागि मुआब्जा वितरण भएर ट्र्याकसम्म खोलिसकेको अवस्थामा बाढी, पहिरोले त्यहाँ पनि क्षति पुर्याएको आयोजनाले बताएको छ।
मेलम्चीको हेडवर्क्स सार्दा याङ्ग्री र लार्के परियोजनाकोसमेत डिजाइन बदल्नुपर्ने अवस्था आउने पन्तले बताए।
‘लार्केको पानी याङ्ग्रीमा मिसाउने गरी आयोजना अघि बढेको थियो। हामीले अहिले अपनाउन खोजेको प्रविधिअनुसार खोलाको पानी थिग्य्राएरमात्रै खोलामा सुरूङमा हाल्नुपर्छ। थिग्य्राएको पानी पुनः खोलामा मिसाउन मिल्दैन। त्यसकारण मेलम्चीको हेडवर्कस सार्दा यी सबैमा विचार पुर्याउनुपर्ने हुन्छ,’ उनले भने।
अम्बाथानको हेडवर्क्स सार्दा लार्के र याङ्ग्रीको पानी प्राविधिक हिसाबले खसाल्न मिल्ने/नमिल्ने अध्ययन हुन बाँकी रहेको पनि पन्तले बताए।
यसैबीच खानेपानी मन्त्रालयले एसियाली विकास बैंकले दिएको अल्प, मध्य र दीर्घकालीन विकल्पहरूमा इन्जिनियरिङ अध्ययन संस्थानबाट एक महिनाभित्र पुनरवलोकन गर्ने निर्णय गरेको थियो।
संस्थानबाट राय आउन बाँकी रहेको र त्यसपछि दीर्घकालीन समाधानका लागि काम गरिने कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए।