भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि युलेन्स एजुकेसन फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।
युलेन्स एजुकेसन फाउन्डेसन, युलेन्स स्कुल, अभिभावक संस्था ‘एक्सन टिम फर पार्टनरसिप’ (एटीपी), बोर्ड अफ ट्रष्टीज, शिक्षक तथा कर्मचारीको संयुक्त पहलमा उक्त रकम सहयोग गरिएको हो।
फाउन्डेसनका संस्थापक अध्यक्ष सोम पनेरूको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
बाढीबाट विस्थापित परिवारलाई तत्काल राहत, खाद्यान्न तथा अस्थायी बासस्थान व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।
चेक हस्तान्तरण गर्दै अध्यक्ष पनेरूले विगतमा आफूहरूले पनि विपद्का कारण क्षति र कठिनाइ भोगेकाले प्रभावित नागरिकको पीडा बुझ्न सक्ने बताए।
उनले देश कठिन अवस्थामा रहेका बेला नागरिकको सहयोगमा उभिनु सबैको दायित्व भएको बताए।